हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका– २ र ४ को सिमाना पर्ने सल्ली खोलामा निर्माण गरिएको ट्रस ब्रिज प्रयोगमा आउन सकेको छैन । उक्त ट्रस ब्रिजको पाँच सय मिटर तल पक्की पुल निर्माण भई सञ्चालनमा आएकै कारण सो ब्रिज प्रयोगविहीन बनेको हो ।
नाम्खा गाउँपालिका– २ का स्थानीय कुनक्याप लामाले आवश्यकता भएको बेला निर्माण नभएको ट्रस ब्रिज अहिले निर्माण भए पनि प्रयोगमा आउन नसकेको बताए । यो ब्रिज विशेष गरी पैदल यात्रु र खर्कमा पशुवस्तुलाई सल्ली खोला तर्नका लागि एक वर्ष अघि निर्माण गरिएको हो । तर उनले पुल निर्माण गर्ने कामदारले तरे पनि अन्य सकैले हालसम्म सो पुल नतरेको बताए ।
लिमी समेत सडक सञ्जालसँग जोडिएपछि पैदल हिँड्न मानिसले छोडेको र खर्कमा लिने पशुवस्तु पनि केही तल हिल्सा सिमकोट सडक योजनाले पक्की पुल निर्माण गरेकाले त्यसैबाट वारपार गर्ने भएकाले कोही पनि उक्त पुल तर्ने नगरेको उनले बताए । निर्माण गर्ने निकायले सामान्य यस्ता कुरामा ध्यान नदिएरै आफ्नो वार्षिक प्रगति पूरा भएको देखाउनका लागि उक्त ट्रस ब्रिज निर्माण गरेको सिमकोट गाउँपालिकाका प्राविधिक दानबहादुर रावलले बताए ।
यसको प्रयोग नजिक अन्य संरचना निर्माणको अवस्थाको खोजी र विकास साझेदारको समन्वयको कमीले विकास बालुवामा पानी भएको भनाइ उनको छ । पुलको अवस्था राम्रै भएको कारण त्यसलाई अन्यत्र आवश्यकता भएको स्थानमा सार्न पनि उहाँको सुझाव छ । एक वर्ष अगाडि एक गैरसरकारी संस्था कादुरीले सो पुल निर्माण गरेको थियो ।
तत्कालीन समयमा स्थानीयले आवश्यकता औंल्याएको कारण उक्त स्थानमा ट्रस ब्रिज निर्माण गरिएको संस्थाले बताएको छ । यसका लागि ७० लाखभन्दा बढी बजेट खर्च भएको थियो । योसहित सल्ली खोलामा दुई किलो मिटरको दूरीमा दुई वटा ट्रस ब्री, एउटा पक्की पुल र एउटा झोलुङ्गे पुन निर्माण गरिएको छ । पक्कीबाहेक अन्य तीन वटा पुल प्रयोगविहीन अवस्थामा छन् ।










नेपालीरैबार । २०८२ श्रावण २७, मंगलवार