कर्णाली बसपार्क योजना कार्यान्वयनमा अन्योल

सुर्खेत । वीरेन्द्रनगरको बढ्दो सवारी चापलाई व्यवस्थित गर्न कर्णाली प्रदेश सरकारले ‘कर्णाली बसपार्क योजना’ आर्थिक वर्ष २०७९/८० मा अघि बढाएको थियो । तर योजना कागजमै सीमित रह्यो र आवश्यक बजेटको व्यवस्थापन भए पनि कार्यान्वयन हुन सकेन ।

आव २०८०/८१ मा बसपार्क निर्माण योजना पुनः सुरु भयो । त्यस वर्ष पूर्वाधार विकास निर्देशनालय, सुर्खेतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्‍यो र नीति तथा कार्यक्रममा समेटियो । तर डिपिआर बाहेक अन्य काम अघि बढेन र योजना फेरि अलपत्र रह्यो ।

वीरेन्द्रनगर नगरपालिका–१, बाङ्गेसिमलमा बसपार्क निर्माणको लागि सामुदायिक वनको जग्गा चयन भइसकेको छ । प्रत्येक वर्ष नीति तथा कार्यक्रम र बजेटमा योजना समावेश भए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन। गत आव २०८१/८२ मा त बजेट नै विनियोजन भएन ।

यो योजना कार्यान्वयनमा अन्योल देखिनुको कारण दुई निकायबीचको जिम्मेवारी दोहोरोपन र बजेटको कमी रहेको छ। पूर्वाधार विकास निर्देशनालयले डिपिआर तयार गरेको भए पनि प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) वीरेन्द्रनगर नगरपालिकाले गर्ने भएको छ ।

निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजङ्ग शाहीका अनुसार, यस वर्ष योजना कार्यान्वयनका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । न्यून बजेट र कार्यक्रम दोहोरोपनाले कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ ।

नगरप्रमुख मोहनमाया ढकालका अनुसार, प्रदेश राजधानीको सवारी व्यवस्थापन समस्या समाधान गर्न प्रविधिमैत्री बसपार्क निर्माणको योजना अघि बढाइएको हो । हालसम्म सुर्खेत बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले दैनिक रूपमा असुविधा भोग्नु परेको छ । नगरपालिकाले योजना कार्यान्वयन गर्ने भए पनि चुनौती र अन्योलका कारण काममा ढिलाइ भएको छ । यस वर्ष कार्यान्वयन सुरु भएमा बसपार्क प्रविधिमैत्री र व्यवस्थित हुने अपेक्षा गरिएको छ, जसले प्रदेश राजधानीका यात्रु र स्थानीय व्यवसायीलाई सहजता प्रदान गर्नेछ ।

तपाईको प्रतिक्रिया