विपन्न वर्गले निशुल्क विद्युत् मिटर पाउने

१५ चैत, काठमाडौं । आर्थिक अवस्था कमजोर भएका घरपरिवारलाई निशुल्क विद्युत् मिटर वितरण गर्ने अभियान सरकारले सुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरू मार्फत विपन्न वर्गलाई निशुल्क मिटर जडान सुरु गरेको हो । विपन्न वर्गले प्राधिकरणको मापदण्ड अनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिङ्गल फेज इनर्जी मिटर, एमसीबी बक्स निशुल्क पाउने छन् ।

प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा प्राधिकरणले निशुल्क मिटर जडान गरिदिने छ ।

्मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोलसम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा लाग्ने जम्मा तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँ बराबरको लागत विपन्न वर्गले निशुल्क पाउने छन् ।

यो रकम जुटाउन नसक्दा त्यस्ता समुदायले चोरी गरी विद्युत प्रयोग गर्दै आएका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले मुलुकभर रहेका वितरण केन्द्रका सञ्जालमार्फत विभिन्न वर्गलाई निशुल्क वितरण भइरहेको जानकारी दिनुभयो ।

निशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुने घिसिङले विश्वास व्यक्त गर्नुभयो ।

सरकारले चालु आर्थिक वर्षमा विपन्न वर्गलाई निशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयन गर्न ४० करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले उपलब्ध गराएको रकमलाई प्राधिकरणले आफ्ना ८ वटा क्षेत्रीय कार्यालयलाई ५/५ करोड रुपैयाँ बाँडफाँड गरेको थियो ।

क्षेत्रीय कार्यालयले प्राप्त रकमलाई विपन्न वर्गको सङ्ख्याका आधारमा शाखा कार्यालयलाई बाँडफाँड गरेका छन् । प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयका निर्देशक ओमप्रकाश महतोले निशुल्क मिटर जडान कार्यक्रम प्रभावकारी देखिएको र लक्षित समुदायबाट राम्रो प्रतिक्रिया प्राप्त भएको जानकारी दिनुभयो ।

कार्यालयले ३ हजारभन्दा बढी विभिन्न वर्ग घरधुरीमा निशुल्क मिटर जडान गरिसकेको छ ।

तपाईको प्रतिक्रिया