अमेरिकाले ‘नो इन्भेस्टिगेसन सर्कुलर’ जारी नगरेको भए जे पनि हुनसक्ने रहेछ: प्रचण्ड

१७ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले आफूमाथि ‘नो इन्भेस्टिगेसन सर्कुलर’ जारी नगरेको भए जे पनि हुन सक्ने बताएका छन् । आइतवार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले शान्ति प्रक्रियामा हस्ताक्षर गरेर गल्ती नगरेको भन्दै प्रचण्डले जनताले संघर्ष गरेर प्राप्त गरेको व्यवस्थालाई उल्ट्याउन प्रतिक्रियावादीहरूले बेलाबेलामा यस्ता हर्कतहरू गरिरहने उल्लेख गरे ।

‘निर्वाचनको बेलामा तराई, मधेश, पहाड र हिमाललाई एकताबद्ध गर्न मैले धेरै काम गरेको छु भन्ने मेरो दाबी छ,’ प्रचण्डले प्रश्न गरे, ‘के शान्ति प्रक्रियाको शुरुवात गर्नु गलत थियो, के देशमा सामन्ती व्यवस्था फ्याँकेर गणतन्त्र ल्याउनु गलत थियो ?’

खेतबारीमा अन्न फलाउनका लागि बेलाबेलामा झारहरू गोडमेल गरेर फ्याँक्नुपर्ने बिम्ब दिँदै प्रचण्डले भने, ‘मैले यसलाई ठूलो केही भयो भन्न खोजेको होइन, तर यो गलत प्रवृत्ति हो । जसरी हामीले खेतबारी गोडमेल गर्छौं, एकपटक गोडमेल गरेर अब त यो झार गइसक्यो केही हुँदैन भन्ने ठान्यौं भने गलत हुन्छ । एकपटक गोडेर फ्याँकेको झार फेरि उम्रिन सक्छ र अन्नबालीलाई असर गर्न सक्छ । यसकारणले झारपातलाई बेलाबेलामा गोडेर फ्याँकिरहनु पर्छ ।’ यो बहसलाई पत्रकारहरूले ठीक ढंगले अघि बढाउन सक्ने प्रचण्डले बताए ।

प्रतिक्रियावादले बेलाबेलामा टाउको उठाउने गरेको प्रचण्डको भनाइ छ । ‘शान्तिसम्झौता र यो संविधानको नेतृत्वकर्ताहरूमाथि प्रहार गर्दा यो व्यवस्था उल्टिन सक्छ कि भन्ने तिनीहरूलाई थाहा छ,’ प्रचण्डले भने, ‘तिनीहरूसँग सयौं वर्षको शासन गर्ने अनुभव छ तर जनताका छोराछोरीसँग कम अनुभव छ, हामीले गल्ति गर्न सक्छौं र त्यसलाई सुधार्न पनि सक्छौं ।’

तपाईको प्रतिक्रिया