नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र युवा नेता रामहरि खतिवडाले पार्टीको नेतृत्वमा सरकार बनेपछि संस्थापन नेता कृष्णप्रसाद भट्टराईको शालिकमा ढोगेका छन् ।
ललितपुरको बाडेगाउँस्थित भट्टराई आश्रममा पुगेर मंगलवार कांग्रेस महामन्त्री र नेता खतिवडाले कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण र पाउ ढोगेका हुन् ।
‘मेरो राजनीति र जीवन दर्शनका गुरु परमपुजनीय किशुनज्यूको आश्रममा जसको प्रत्यक्ष दर्शनबाट प्राप्त प्रेरणाले यसपटक संविधान र लोकतन्त्रको रक्षा गर्न अकल्पनीय सफलता मिल्यो, तिनै प्रेरणाका स्रोतमा माल्यार्पण गरी, चरणस्पर्श पश्चात आशीर्वाद लिँदै,’ भट्टराईको शालिक अगाडिको फोटो राखेर खड्काले लेखेका छन् ।
महामन्त्री खड्का र खतिवडा भट्टराईका अनुयायी हुन् । अहिलेको गठबन्धन निर्माणका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री खड्कालाई जिम्मेवारी दिएका थिए ।
‘अहिलेको गठबन्धन निर्माणको जिम्मा पाउनु भएका महामन्त्री र म किशुनजीको आश्रममा आएका थियौं, कांग्रेसको नेतृत्वमा सरकार बनेको खुशीयालीमा हामी किशुनजीलाई सम्झेर यहाँ आयौँ,’ खतिवडाले भने ।

नेपालीरैबार । २०७८ श्रावण ५, मंगलवार