नयाँ सरकारमा माधव समूहलाई ६ मन्त्रालय दिने तयारी, कांग्रेसमा मन्त्रीका आकांक्षीको ‘लबिङ’ तीव्र

काठमाडौं । सरकारमा सहभागी हुने दलहरूले पाउने मन्त्रालय भागबण्डामा प्रारम्भिक सहमति बनेको छ। पछिल्लो चरणमा भएका छलफल अनुसार एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि सरकारमा सहभागी हुने गरी संवाद अघि बढेको छ।

नेपाली कांग्रेसका एक नेताका अनुसार सत्ता नेतृत्वकर्ता कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राख्नेछ। माधव पक्षलाई सहभागी गराउन गरिएको आन्तरिक छलफल अनुसार माओवादी केन्द्र र जनता समाजवादीले ६/६ मन्त्रालय प्राप्त गर्ने भएका छन्। राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गरेपनि मन्त्रिमण्डलमा सहभागी नहुने भएको छ। नयाँ सरकारको कूल मन्त्रिपरिषद्को संख्या २५ जना रहने बताइएको छ।

सरकारमा माधव पक्ष सहभागी भएको अवस्थामा ६ मन्त्रालय छुट्याउने तयारी रहेको बताइएको छ। राष्ट्रिय सभा सदस्य वामदेव गौतमको नेतृत्वमा माधव पक्ष सरकारमा सहभागी हुने कांग्रेसका एक शीर्ष नेताले दाबी गरे।

गौतमले उपप्रधानमन्त्रीसहित माधव पक्षको नेतृत्व गर्ने बताइएको छ। तर, गौतमले वर्तमान सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुने विषयको खण्डन गरेका छन्। गौतमका स्वकीय सचिव दीपक टमाटाले उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने चर्चा तथ्यहिन भएको बताएका छन्।

एमालेभित्रको आन्तरिक विवाद समाधान हुने बाटोमा गए माधव समूह सरकारमा सहभागी नहुने बताइएको छ। त्यस अवस्थामा सत्तारुढ तीन दलको भागमा मन्त्रालय थपिनेछ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या तीन भन्दा बढी हुने बताइएको छ।

कांग्रेसमा लबिङ तिब्र

देउवाले विश्वासको मत पाएसँगै कांग्रेसमा मन्त्रीका आकांक्षीहरूले ‘लबिङ’ तीव्र पारेका छन्। कांग्रेसको संस्थापनइतर समूहले उपप्रधानमन्त्रीसहित मन्त्रालयहरूमा सुनिश्चितता खोजेको छ।संस्थापनइतर समूहमा मन्त्रीका आकांक्षी धेरै छन्। उनीहरु मन्त्री बन्न ‘लबिङ’ गरिरहेका छन्। कांग्रेसको संस्थापन समूहमा पनि मन्त्रीका आकांक्षी धेरै भएका कारण प्रधानमन्त्री देउवालाई मन्त्री छान्न सकस छ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले कांग्रेसका लागि सात मन्त्रालय राखेर नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट समूह र जनता समाजवादी पार्टी (जसपा) का दुवै समूहका लागि ६र६ मन्त्रालय छुट्याएका छन्। प्रधानमन्त्रीमा सघाएका दलहरूलाई पनि सरकारमा सहभागी गराउनुपर्ने भएकाले कांग्रेसले कम मन्त्रालय राखेको हो। यस्तो अवस्थामा मन्त्रीका आकांक्षी व्यवस्थापन गर्न देउवालाई हम्मे परेको छ।

कांग्रेस संस्थापन समूहले यसअघि नै दुई मन्त्री लिइसकेको छ। बाँकी चार मन्त्रालयमध्येबाट संस्थापन इतर समूहले उपप्रधानसहित मन्त्रालय मागेको छ। उता ‘तेस्रो धार’को नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलालाई पनि मन्त्रालय दिनुपर्ने बाध्यतामा प्रधानमन्त्री देउवा छन्।

कांग्रेसको संस्थापन समूहबाट पुष्पा भुसाल, डा. डिला संग्रौला, देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, भरत शाह, डा. नारायण खड्का आकांक्षी देखिएका छन्। जसमध्ये भुसाल र संग्रौलाको नाम मन्त्रीका लागि चर्चामा छ। तर स्रोतले नेतृ भुसाल मन्त्रिमण्डलमा सहभागी हुने सम्भावना धेरै रहेको दाबी गरेको छ। यद्यपि, अर्की नेतृ संग्रौलाले देउवा बालुवाटार नसर्दै बूढानीलकण्ठ पुगेर आफूलाई पनि अवसर दिनुपर्ने आग्रह गरेको स्रोतको भनाइ छ।

संस्थापनइतर समूहले महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये कुनै एकलाई उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा सिफारिस गर्ने निर्णय गरिसकेको छ। महामन्त्री डा. कोइराला निवास महाराजगञ्जमा सोमबार बसेको इतर समूहको बैठक तीनमध्ये एकजनाको नाम उपप्रधानमन्त्रीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

जसमध्ये सुजाताको नाम उपप्रधानमन्त्रीका लागि सिफारिस हुने सम्भावना धेरै रहेको महाराजगञ्ज बैठकमा सहभागी स्रोतले दाबी गरेको छ। इतर समूहबाट डा। मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू पनि मन्त्री बन्ने ‘लबिङ’ मा छन्। यस्तै संस्थापन समूह छाडेर इतर समूहमा गएका रुपन्देहीका सांसद विजय यादव, सप्तरीका तेजुलाल चौधरी, उदयपुरकी प्रमिला राई पनि आकांक्षी छन्।

यस्तै १३ औं महाधिवेशनदेखि कांग्रेसमा ‘तेस्रो धार’ सिटौला समूहबाट सांसदहरु गगन थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरी पनि आकांक्षी हुन्। जसमध्ये चौधरीको सम्भावना धेरै रहेको स्रोतको दाबी छ। यद्यपि, थापा स्वास्थ्यमन्त्री बन्नुपर्ने आवाज सामाजिक सञ्जालमा उठिरहेको छ। तर, उनी यो मन्त्रिमण्डलमा अटाउने सम्भावना कम रहेको कांग्रेसका एक प्रभावशाली नेताले बताएका छन्।

तपाईको प्रतिक्रिया