१५ महिनापछि नेकपाले जारी गर्‍यो अन्तरपार्टी निर्देशन, केन्द्रीय कमिटी बैठक चाँडै

काठमाडौं । पार्टी एकताको १५ महिनापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दोस्रो अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार अपानि जारी गरेका हुन् ।
यसअघि नेकपाले २०७५ जेठ १६ गते अपानि जारी गरेको थियो । २ जेठदेखि ५ भदौ २०७६ सम्म अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न र ९ भदौ २०७६ मा अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरूका आधारमा अपानि जारी गरिएको नेकपाले जनाएको छ ।

अपानि जारी गर्दै पार्टी अध्यक्ष प्रचण्डले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने बताएका छन् । “यथासक्य चाँडो पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गर्नेछौं । र, अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ,” अपानिमा भनिएको छ ।

सहमतिका आधारमा एकताको काम टुंग्याउन थाल्दा एकीकरण प्रक्रिया लम्बेतान बन्न पुगेको नेकपाको भनाइ छ । “हामीले एकता–एकीकरणका बाँकी कामहरू तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेका थियौं । राष्ट्रिय राजनीतिले सिर्जना गरेका नयाँ–नयाँ जिम्मेवारी र मूलतः सहमतिका साथ एकता– एकीकरणका बाँकी काम सम्पन्न गर्ने हाम्रो उत्कट चाहना समेतका कारणले गर्दा पूर्वघोषित तीन महिनाभित्र एकता– एकीकरणको काम सम्पन्न गर्न सम्भव भएन । अपेक्षा गरेभन्दा बढी नै समय लिएर तर मूलतः सहमति र समझदारीका साथ एकता–एकीकरणको काम अघि बढेको छ र अन्तिम चरणमा आइपुगेको छ । हामीले छिट्टै एकता–एकीकरणका बाँकी कामहरू सम्पन्न गर्नेछौं,” अपानिमा उल्लेख छ ।

त्यस्तै अपानिमा अध्यक्ष तथा महासचिवको जिम्मेवारी निर्देश गरिएको छ । अध्यक्षले पार्टी विधानको धारा १८ (झ) बमोजिम समग्र पार्टीलाई नेतृत्व प्रदान गर्ने र महासचिवले पार्टी विधानको धारा–१८ (ट) बमोजिमका जिम्मेवारी निर्वाह गर्ने बताइएको छ ।

त्यस्तै वरिष्ठ नेताको मर्यादाक्रम र केन्द्रीय कमिटीमा उपाध्यक्षको व्यवस्था गरिएको अपानिमा उल्लेख छ ।

३१ साउन २०७६ मा सम्पन्न केन्द्रीय सचिवालय बैठकले झलनाथ खनाललाई चौथोबाट तेश्रो वरीययताक्रमको वरिष्ठ नेता र माधवकुमार नेपाललाई तेश्रोबाट चौथो वरीयताक्रमको वरिष्ठ नेता कायम हुने निर्णय गरेको छ । त्यसैगरी केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी केन्द्रीय कमिटी उपाध्यक्षको जिम्मेवारी प्रदान गर्न स्थायी कमिटीसमक्ष प्रस्ताव लैजाने निर्णय गरेको छ ।

बाह्रखरी

तपाईको प्रतिक्रिया