जनता कोरोनाको दु:खमा हुँदा सरकार कार्पेट व्यवस्थापनमा मस्त: मीनेन्द्र रिजाल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले जनता कोरोना महामारीमा रहेका बेला सरकार कार्पेट व्यवस्थापनमा जुटेको बताएका छन्।

विदेशम रहेका नेपाली स्वदेश कसरी पुग्ने र स्वदेशका नेपाली कोरोनाबाट कसरी उम्कने भनिरहेका बेला सरकार कसरी कार्पेट व्यवस्थापन गर्न सकिन्छ भनेर लागिपरेको रिजालको भनाइ छ।

शनिबार प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्ताव राख्दै सांसद रिजालले सरकारमा बसेकाहरूले जनताको दु:ख नदेखेको बताए।

‘नेपालीहरू कसरी कोरोनाबाट उम्कने भन्नेमा छन्। सरकारमा बसेकाहरू कसरी कार्पेट व्यवस्था गर्ने भनेर मस्त छन्,’ उनले भने।

राष्ट्रपति कार्यालयमा नयाँ कार्पेट व्यवस्थापन गर्न लागिएको खबरहरूप्रति लक्षित गर्दै सांसद रिजालले उक्त कुरा भनेका हुन्।

सत्तारूढ दलका नेताहरू सत्ता सम्भावनाको खेलमा रमाएको पनि उनले बताए।

‘सत्तारूढ दलका अरू मानिसहरू सत्ता सम्भावनाको बासुरी कुन धुनमा बजायो भने राम्ररी बज्छ भनिरहेका छन्,’ उनले भने।

उनले जनताको दु:खमा नुन नछर्किन पनि आग्रह गरे। ‘जनताको दु:खमा नुन नछर्किनुस्। राष्ट्रिय अठोट आवश्यक छ। यो संकटबाट तपाईंहरूले पार लगाउनु हुन्न, मिलेर काम गरौं,’ रिजालले भने।

सरकारसँग राजश्व उठाउन सक्ने क्षमता र योजना नभएको उनले बताए। ‘राजश्व उठाउन सक्ने क्षमता र योजना सरकारसँग छैन। पूँजीगत खर्च गर्न सक्ने क्षमता र इमान्दारिताको लक्षण देखिएन,’ उनले भने। सांसद रिजालले अर्थ मन्त्रालयको चालु खर्च २५ अर्बबाट घटाएर ८ अर्बमा राख्न माग गरे।

तपाईको प्रतिक्रिया