डिभाइन युथ क्लब नेपाल सुर्खेतद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सुर्खेत । राधा माधव समिति नेपाल अन्तर्गतको डिभाइन युथ क्लब नेपाल सुर्खेतले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर- ७ इत्राममा अवस्थित श्री कृष्ण संस्कृत तथा साधारण माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

संस्थाले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमै पुगेर कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ६२ जना विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरेको छ । गरिब, विपन्न, जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी खोजेर वितरण गरिरहेको डिभाइन युथ क्लब नेपाल सुर्खेतका संयोजक चरित्र ढकालले बताए ।

स्थापना कालदेखि नै आफूहरु विद्यार्थीलाई न्यानो कपडा बोकेर गाउँका कुनाकन्दरा पुग्ने गरेको ढकालले बताए । चिसो समयमा विद्यार्थी कपडा वितरण गरेर सहयोग गर्न पाएकोमा सामाजिक कार्यमा उत्साह बढेको राधा माधव समिति सुर्खेतका संयोजक गणेशभक्त गौतमले बताए । विद्यार्थीलाई टोपी र सुइटर वितरण गरिएको हो ।

संस्थाका ३०० भन्दा बढी सदस्यहरुले खाजा खर्च वापतको रकम बचाएर सामाजिक कार्य गर्ने गरेका छन् । विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा कृष्ण संस्कृत तथा साधारण माविका प्रधानाध्यापक लोक बहादुर खत्रीले धन्यवाद दिए ।

कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले न्यानो कपडा हस्तान्तरण कार्यक्रमले शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने बताए । विद्यालय व्यावस्थापन समिति अध्यक्ष डम्बर खड्काले विद्यालयमा संस्थाले गरेको सहयोगको प्रंशसा गरे ।

तपाईको प्रतिक्रिया