सुर्खेत। रुकुमपश्चिममा बाढीपहिरो तथा मनसुनजन्य विपदबाट प्रभावित परिवारहरुलाई तत्कालको व्यवस्थापनमा राहत सामग्रीको अभाव भएको छ । उनीहरुको आश्रयस्थल निर्माण तथा खाद्यन्न व्यवस्थापनमा समस्या भएपछि विभिन्न निकायमा सहयोगका लागि आह्वान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले अहिलेसम्म तीन वटा पालिकाका एक हजार ७०९ घरपरिवारको व्यवस्थापनका लागि टेन्ट लगायतका राहत सामग्री माग गरिएको छ। उनका अनुसार प्रभावित परिवारहरुलाई तत्कालको व्यवस्थापनका लागि जिल्ला विपद् जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन समितिका बैठकबाटै सहयोगको आह्वान गरिएको छ ।
तीन पालिकामा मात्र करिब एक हजार सात सय परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । ती परिवारको अस्थायी आश्रयस्थल तत्काल व्यवस्थापनका लागि टेन्ट लगायतका सामग्रीको अभाव रहेको छ ।
प्रजिअ पन्तले आठविसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकाका करिब एक हजार ७०९ घर परिवारका लागि टेन्टलगायतका अत्यावश्यक सामग्री माग गरिएको जानकारी दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौँ र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष उक्त सामग्रीको माग गरिएको हो । यसका साथै विभिन्न गैरसरकारी संघ, संस्था र निजी क्षेत्रलाई समेत टेन्ट तथा खाद्यन्न लगायतका सामग्रीका लागि आह्वान गरिएको छ ।
यी तीन वटा पालिकाका ४८ घरपरिवार बाढीपहिरोका कारण विस्थापित भएका छन् । आठबिसकोटमा एक हजार ५५७, बाँफिकोटमा ५४ र मुसीकोटमा ५० घर परिवार बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । यस बाहेक जिल्लाको सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिका समेतमा सयौं घरपरिवार र बस्तीहरु बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।
नेपालीरैबार । २०८१ श्रावण ३, बिहीबार