काठमाडौं। त्रिशूलीमा खसेका बस खोजीदिन नेपाल सरकारले चीनसँग आग्रह गरेको छ । यसअघि नेपालले भारत सरकारलाई पनि बस खोजिदिन आग्रह गरेको थियो । सो आग्रहअनुसार भारतीय प्राविधिक टोली नेपाल आएर त्रिशूलीमा बस खोजबिन गरेको थियो तर फेला नपरेपछि फर्केर गएको छ । अहिले सरकारले चीनसँग पनि कुराकानी भइरहेको बताएको छ ।
गृह मन्त्रालयका सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा।भीष्म भुसालले नेपालस्थित चिनियाँ राजदूतावाससँग अनौपचारिक कुराकानी भइरहेको र सकारात्मक कुरा आएपछि औपचारिक रूपमा पत्र नै पठाउने बताए ।
उद्धारका लागि चाहिने सामाग्रीका लागि सरकारले चीनलाई पत्र नै पठाएको उनले बताए । विपद् व्यवस्थापन तथा उद्धारका लागि चाहिने ‘सामग्री सहयोग गर्न चीनलाई औपचारिक रूपमै आग्रह गरिएको छ तर त्रिशूलीमा हराएको बस खोज्न औपचारिक पत्र नपठाए पनि अनौपचारिक कुराकानी भइरहेको छ’ उनले भने ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले साउन ७ गते गृहमन्त्री रमेश लेखकलाई भेटेका थिए । सो भेटको क्रममा पनि विपद् व्यवस्थापनका लागि चीन सरकारसँग सहयोगका विषयमा कुराकानी भएको थियो । गृहमन्त्री लेखकले पनि चीनबाट नेपाललाई विपद् व्यवस्थापनमा उद्धारका लागि चाहिने सामग्री सहयोग गर्न आग्रह गरेका थिए ।
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेको बस र यात्रुको खोजीका लागि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएको थियो । सो टोलीले एक सातासम्म बस तथा यात्रु खोजबिन गरेको थियो ।
त्रिशूलीमा बस फेला नपरेपछि टोली साउन १३ गते भारत फर्किसकेको छ । बस तथा यात्रु खोज्ने क्रममा उनीहरुले ल्याएको १९ केजीको चुम्बक पनि नदीमा हराएको थियो । त्यो चुम्बक पछि फेला परेको थियो ।
नेपालीरैबार । २०८१ श्रावण १६, बुधबार