दैलेख । नवजात शिशु चोरी गरी हैरानी दिने एक १६ वर्षीया किशोरीलाई दैलेख जिल्ला अदालतले ३ वर्ष ४ महिना कैद र ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले सोमबार उक्त फैसला सुनाएको हो । अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायका अनुसार किशोरीमाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा आपराधिक उपद्रव अभियोगमा २ वर्ष कैद र २० हजार जरिवाना माग गरिएको थियो । ती दुवै मुद्दा एकीकृत गर्दै ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको थियो ।
तर, बाल न्याय प्रणालीअन्तर्गत दोषीको उमेरको आधारमा एक तिहाइ छुट दिँदा सजाय घटाएर ३ वर्ष ४ महिना कैद र ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना कायम गरिएको हो ।
घटना गत चैत २८ गते ठाटीकाँध गाउँपालिका–१ सिलाडीमा घटेको हो । बमबहादुर बुढाकी ३५ दिने छोरी श्रीया बुढालाई एक किशोरीले आगलागीको नाटक गर्दै सुताइएको स्थानबाट चोरी गरेकी थिइन् । हराएका शिशुलाई चैत २९ गते बिहान चामुण्डामा फेला पारिएको थियो।
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै वैशाख १७ गते जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग दर्ता गरेको थियो । सोही दिन थुनछेक बहसपछि किशोरीलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाइएको थियो ।

नेपालीरैबार । २०८२ असार ३१, मंगलवार