कांग्रेस–एमाले सरकार आगामी निर्वाचनसम्म रहन्छ : खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस र नेकपा एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहने बताए । प्रमुख २ दल मिल्दा अहिले राजनीतिक स्थिरता भएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुुनुहुन्छ, केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ यहीँ गठबन्धनले २०८४ को निर्वाचन गराउँछ । बाहिरी हल्लाको पछि नलाग्नुहोस् ।’

पूर्वी सुर्खेतको लेकबेशी र भेरीगंगा नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गर्दै उनले यस्तो बताएका हुन् । भूमि आयोग सुर्खेतद्वारा आयोजित कार्यक्रममा खड्काले लेकवेशीका २१ जना र भेरीगंगाका २०५ जना गरी २२६ जनालाई जग्गाधनी पूर्जा हस्तान्त्ररण गरेका थिए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाधनी पूर्जा पाउनु खुसीको कुरा भएको बताए । उनले वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रीत गरेको पनि उल्लेख गरे ।

भूमि सम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गर्नेगरी छलफल चलिरहको उनले जानकारी दिए । भूमिको अधिकतम उपयोग गर्ने, विशेष गरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएको उनको भनाइ छ ।

‘जनतामा निराशा भन्दापनि जिम्मेवारीमा रहेका जनप्रतिनिधि र कर्मचारीहरुसँग असन्तुष्टी रहेको छ । मत माग्दा भ्रमित हुने गरेर घोषणापत्र बनाउने र पछि सो अनुसार काम नगर्ने चलनका कारण मतदाता रिसाउने गरेका छन्’ उनले भने, ‘जिम्मेवारीमा रहेकाहरु सच्चिए नागरिकहरु प्रष्ट हुने र सबै क्षेत्रमा सुधार आउने देखिन्छ । अहिलेको चुनौति राजनीतिक दलहरुका लागि यहीँ हो । जिम्मेवारीमा रहेकाहरु लोभबाट, दलगत स्वार्थ भन्दामाथि उठेर सामुहिक हितका लागि जिम्मेवारीमा रहेको हुँ भन्ने सोच विकास गरे सबै कुरामा सुधार आउँछ ।’

आफू उपप्रधानमन्त्री हुँद २०० प्रतिशत रहेको राजस्वलाई घटाएर १० प्रतिशतमा झारेको उनको भनाइ छ । अहिले पनि मतदाताहरुमा राजस्व धेरै भयो भन्ने गुनासो रहेको भन्दै जग्गाको मूल्य बढेकाले राजस्व बढेको हो भन्ने कुरा मतदातालाई बुझाउनुपर्ने उनले औंल्याए । राजनीतिक प्रतिष्पर्धाका नाममा एकले अर्कालाई हिलो छेयाप्ने काम भइरहेको बताउँदै यसको अन्त्य हुनुपर्ने उनको तर्क छ । जिम्मेवारीमा रहेका केन्द्रदेखि टोलसम्मका जनप्रतिनिधिले मतदाता किन असन्तुष्ट छन् भन्ने कुराको ख्याल गर्न जरुरी रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया