सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले योजना छनोटदेखि बजेट विनियोजनसम्मको प्रक्रियामा अझै सुधार आवश्यक रहेको बताएका छन्। उनले प्रदेशको समुचित विकासका लागि विगतको अनुभवबाट पाठ सिक्दै अबको बजेट निर्माण प्रक्रिया अझ प्रभावकारी र पारदर्शी हुनुपर्नेमा जोड दिए।
बुधबार सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशसभा सदस्यहरूसँग आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१’ र ‘आयोजना बैंक कार्यसञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०८१ को प्रारम्भिक मसौदामाथि छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले विकास निर्माणका बजेटहरू अलग–अलग निकायसँग भए पनि कार्यान्वयनमा सबै तहका सरकारबीच सहकार्य अनिवार्य रहेको बताए।
जनताले संघ, प्रदेश र स्थानीय तीनवटै सरकारका कामलाई एउटै दृष्टिले हेर्छन् उनले भने, त्यसैले योजना छनोट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता र पारदर्शिता हुन आवश्यक छ।
कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका सचेतक हिक्मत विष्टले जिल्लाबाट आयोजना सिफारिस गर्दा गहिरो अध्ययन नहुँदा बजेट निर्माण जटिल भएको भन्दै अब सङ्कलनमुखी होइन, आवश्यकता र प्रभाव आधारित योजना छनोट गर्नुपर्ने धारणा राखे।
नेकपा एमालेका सचेतक टेकराज पछाईले कार्यविधिको निर्माणले कर्णालीमा सुशासनको संकेत दिएको बताए। विगतका कमजोरी सुधार गर्दै परिणाममुखी योजना कार्यान्वयन गर्ने आधार तयार भएको छ, उनले भने।
त्यस्तै, नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य उर्मिला विश्वकर्माले प्रस्तुत कार्यविधि र मापदण्डप्रति सन्तोष व्यक्त गर्दै यसलाई अझ सरल र व्यवहारिक बनाउन सुझाव दिइन्।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले छलफलमा उठेका सुझावहरूको अध्ययन गरी कार्यविधि र मापदण्डमा आवश्यक संशोधन गरिने जानकारी दिए।
कार्यक्रममा कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङ, पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, गाउँपालिका र नगरपालिका महासंघका अध्यक्षहरू, मन्त्रालयका सचिवहरूको समेत उपस्थिति रहेको थियो।









नेपालीरैबार । २०८२ श्रावण २१, बुधबार