पातारासीमा ३ क्वीईन्टल काँचो स्याउ बरामद

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले लुकिछिपी संकलन गरेर निर्यात हुन गर्न लागेको काँचो स्याउ बरामद गरिएको छ । पातारासी गाउँपालिका वडा नं ६ स्थित उर्थु प्रहरी चौकीले निर्यात हुन लागेको झण्डै तीन क्वीईन्टल काचो स्याउ जफत गरेको हो ।

पातारासी गाउँपालिका वडा नं ४ का भोटगाउ कृर्षक मक्क बहादुर रोकायाको बगैचाबाट व्यापारी हरिस प्रसाद देवकोटाले काँचो स्याउ संकलन गरेको पाईएको छ । व्यापारी देवकेटाले पातारासी वडा नं ४ बाट असारमा पाक्ने स्याउ भनेर लिएको अबस्थामा उर्थु प्रहरीले जाँच गर्दा भदौमा पाक्ने काँचो स्याउ भेटिएछि नियन्त्रणमा लिएर पालिकालाई बुझाएको हो ।

उर्थु प्रहरी चौकीले नियन्त्रणमा गरेको स्याउ पातारासी गाउँपालिकाको जिम्मा लगाएको छ । पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन शाहीका अनुसार तीन क्वीईन्टल काँचो स्याउ बरामद भएको छ ।

लुकिछिपी संकलन गरेर प्याकिङ गरि जिल्ला बाहिर लिनै लागेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको रहेछ । भदौ १५ गते अघि स्याउ टिप्न नपाईने जिल्लाको निर्णय विपरित लुकिछिपी काँचो स्याउ लिन खोज्दा नियन्त्रणमा लिइएको हो ।
उनले भने,‘२७ कार्टुन झण्डै ३ सय किलो स्याउ बरामद गरेर पालिकामा ल्याएका छौ । पातारासीको सिमावर्ती क्षेत्र उर्थु प्रहरी चौकीले काँचो स्याउ चोरी पैठारी रोक्न कडाई गरेको थियो । प्याकिङ गरेको काँचो फेला पारेका छौ । प्रक्रिया पूरा गरेर राखिने छ ।’

आठौँ जिल्ला सभाले समेत भदौ १५ गते भन्दा अघि स्याउ टिप्न नपाईने निर्णय गरेको छ । भने कुनै वडा र पालिकाले सिफारिस नदिन पनि निर्देशन गरिएको । आठै पालिकाले पनि भदौ १५ गते भन्दा अघि स्याउ नटिप्न सूचना गरेका छन् ।

तर किसान र व्यापारीले अटेरी गर्दै रातारात काँचो स्याउ टिप्ने र निर्यात गर्ने गरेको पाईएको छ । काँचो स्याउ टिपेर निर्यात गर्दा जिल्लाको पहिचान खतरामा हुने भएकोले परिक्क स्याउ मात्रै निर्यात गर्न जुम्लाका पालिकाले कडाई गरेका छन् ।

जुम्लाको एक नगरपालिका र सात गाउँपालिका गरि आठ स्थानीयतहले पटक पटक सूचना गरेर किसान तथा व्यापारीलाई काँचो स्याउ टिपेमा कारबाही गर्ने चेतावनी दिएका छन् । जिल्लामा कडाई गरेपनि सुर्खेत,नेपालगन्ज लगायतका शहरमा जुम्लाको काँचो स्याउ छ्याप छ्याप्ती पुगेको छ ।

२०६४ सालमा जुम्लालाई १४ ओैँ जिल्ला परिषदबाट प्रांगारिक जिल्ला घोषणा गरिएको छ । त्यसपश्चात जुम्लाको उत्पादनको बजारमा माग बढ्दै गएको छ । पछि मूल्य नपाईने डरले अहिले राम्रो मूल्य पाउने क्षणिक लोभले जिल्लाकै पहिचान संकटमा पार्ने गरि हरेक वर्ष काँचो स्याउ निर्यात हुने गरेको छ ।

जुम्ला र कालिकोट सिमावर्ती क्षेत्रमा रहेको नाग्म प्रहरी चौकीमा समेत जिल्ला बाहिर जाने माल बहाक गाडीलाई कडाई गरिएको छ । हाल जुम्लाको ४ हजार २५० हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भईरहेको छ । भने १९ हजार घरधुरी स्याउ खेतीमा निर्भर छ।
स्याउ काँचो नभएको पुष्टी
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले पातारासीले नियन्त्रणमा लिएको स्याउ काँचोनै भएको पृष्टी भएको बताए ।

किसान र व्यापारीको मिलोमत्तोमा असार पाक्ने स्याउ भन्दै काँचो स्याउ टिपेर बजारमा लिन खोजेपनि जाँच गर्न काँचोनै पृष्टी भएको प्रमुख अधिकारीको भनाई छ ।

पातारासीले स्याउ बरामद गरेपछि कृषि विकास कार्यालय प्रमुख तथा अर्थविज्ञ रामभक्त अधिकारीको टोली पातारासी पुगेको थियो । ‘डिप्याक्टो’ मिटर मार्फत स्याउमा गुलकोच (गुलियोपना)को मात्रा जाँच गर्दा काँचोनै भेटियो ।

प्रमुख अधिकारीले भने,‘स्याउमा न्युनत १० प्रतिशत गुलियोपना भरिएपछि बजारमा टिप्न मिल्छ । तर बरामद गरिएको स्याउको गुलियोपना ९ प्रतिशत मात्रै भेटियो । बजारमा पठाउन उपयुक्त नदेखिएपछि एकहप्ता सम्म कोठामै राख्ने पछि पुनँ जाँच गरेर मात्रै बजारमा पठाउने सहमती भएको छ ।’

टिपी सकेको स्याउमा १० प्रतिशत भन्दा माथि गुलियोपना भएपछि कुहिने सम्भावना हुन्छ । तर १० प्रतिशत भन्दा तल गुलियोपना हुनु भनेकै स्याउ काँचो छ भन्ने हो । जिल्लाभरीनै काँचो स्याउको संकलन तथा निर्यातमा कडाई भएकोले पातारासीले प्रभावकारी कार्यान्वयन गरेको प्रमुख अधिकारीको भनाई छ ।

तपाईको प्रतिक्रिया