पशुपतिको गीत जस्ताको तस्तै युट्युबमा राख्न प्रतिष्ठानको आग्रह (विज्ञप्तिसहित)

काठमाडौँ, ६ फागुन । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालले हाल विवादित बनिरहेको पुशपति शर्माको गीत ‘लुट्न सके लुट।।’ लाई फेरि जस्ताको तस्तै युट्युबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकमा गीतका विषयमा लामो छलफल भएको थियो । प्रतिष्ठानका प्रथम उपाध्यक्ष समेत रहेका गायक शर्मा पनि बैठकमा उपस्थित थिए ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुनः अपलोड गर्न सर्जक शर्मालाई आग्रह गरिएको छ ।

प्रतिष्ठानको बैठकले संगीत विकास बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारलाई गरेको आग्रह फेरि स्मरण गराएको छ ।

बैठकमा उपस्थित गायक शर्माले युट्युबबाट गीत हटाउनुको कारणबारे जानकारी गराएका थिए । एक/दुईवटा फोनका कारण आफूले गीत हटाएको शर्माले बैठकमा जनाए । राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भनेर आफूलाई फोन आएको शर्माले बताएको प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले जानकारी दिए ।

उनले गीतमा आफूले व्यक्ति विशेषको भन्दा प्रवृत्तिको विरोध गर्न खोजेको स्पष्टिकरण दिएका थिए । आफू कुनै पार्टीसित आवद्ध नभएको तथा कुनै पार्टीको विरोधि पनि नभएको शर्माले बैठकमा बताएका थिए । शर्माले गीत फेरि राख्ने विषयमा सोचेर निर्णय लिने बताएका छन् ।

तपाईको प्रतिक्रिया