राजनीतिक पूर्वाग्रह राखेर मेरो चरित्र हत्या गर्न खोजियोः मन्त्री मगर (विज्ञप्ति सहित)

१३ चैत, काठमाडौं । आफ्नाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको भन्दै खानेपानी मन्त्री विना मगर विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनामाथि खनिएकी छिन् ।

बहालवाला मन्त्रीले एक सामान्य राजनीतिक कार्यकर्ताको नामै किटेर धम्कीपूर्ण विज्ञप्ति जारी गरेकी छिन् । जसमा मन्त्री मगरले आफ्नो पृष्ठभूमि र संघर्षको इतिहासको समेत हेक्का राख्न रञ्जुलाई चेतावनी दिएकी छिन् ।

विकेकशील नेपाली दलले हालै मात्र मेलम्ची खानेपानी आयोजनामा अनियमिता भएको भन्दै अख्तियारमा उजुरी दिएको थियो । त्यसक्रममा रञ्जुले मेलम्चीमा के भइरहेको छ, मन्त्रीले जानकारी दिनुपर्ने बताएकी थिइन् ।

तर, मन्त्री मगरले रञ्जुमाथि आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएकी छन् । मंगलबार मन्त्री मगरद्वारा जारी दुई पृष्ठ लामो विज्ञप्तिमा भनिएको छ, मेलम्ची आयोजनामा अनियमिता भएको प्रमाणित भए म जुनसुकै सजाय भाग्न तयार छु । यदि अनियमिता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु ।’

आफ्नो स्वार्थपूर्तिका लागि अरुको चरित्र हत्या अधिकार रञ्जुलाई नभएको भन्दै मन्त्री वीनाले भनेकी छन्, ‘यो चरित्रहत्या मेराविरुद्ध मात्र नभएर निष्ठा र समर्पणको राजनीति गर्नेहरुमाथिको आक्रमण हो ।’

आफ्नो कठोर संघर्षबाट आएको भन्दै उनले आफ्नो निष्ठामाथि प्रश्न उठाउँदा पृष्ठभूमि र संघर्षको इतिहास पनि हेक्का राख्न सचेत गराएकी छन् । रञ्जु दर्शनातर्फ इंगीत गर्दै मन्त्रीले भनेकी छन्, म न कुनै राजनीतिक तिकडमका आधारमा यहाँसम्म आएको हुँ, न कुनै सस्तो लोकपि्रयताको बलमा ।’
मन्त्री मगरले धम्कीको भाषामा भनेकी छिन्, ‘मेरो राजनीतिक निष्ठामाथि प्रश्न उठाउँदा पृष्ठभूमि र संघर्षको इतिहासप्रति पनि हेक्का राख्नुपर्छ भन्ने मेरो दाबी छ ।’
प्रचण्डकी बुहारी भएकैले बरिष्ठहरुलाई पछि पार्दै मन्त्री बनेको चर्चा भइरहेका बेला मन्त्री मगरले मेलम्ची प्रकरणमा आफूमात्रै नभएर आफ्नो परिवारमाथिसमेत आक्रमणको प्रयास भइरहेको भन्दै मन्त्री वीनाले प्रचण्डतर्फ पनि संकेत गरेकी छिन् ।
उनले विज्ञप्तिमा भनेकी छिन्,’मेलम्ची खानेपानी आयोजनाको प्रगतिलाई म र मेरो परिवारमाथि आक्रमण गर्ने जुन राजनीतिक हतियार बनाइएको छ, त्यो निन्दनीय छ ।’

तपाईको प्रतिक्रिया