उद्योगमन्त्रीले लिन मानेनन् लगानी सम्मेलनको उपहार

१५ चैत, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले आयोजकले दिएको उपहार अस्वीकार गरेका छन् ।

सत्रको अन्तिममा सम्मेलन आयोजक लगानी बोर्डले गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टमार्फत मन्त्री यादव सहितका सहभागीलाई उपहार वितरण गरेको थियो । तर, उनले ‘म लिन्न’ भन्दै उपहार अस्वीकार गरे ।
सत्रमा उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा, सुर्य नेपाल प्रालिका कार्यकारी निर्देशक अभिमन्यू पोद्दार, गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छा, हुवासिन सिमेन्टका उपाध्यक्ष सू गाङ बक्ताका रूपमा सहभागी थिए । यस्तै पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक प्रदीप कुमार श्रेष्ठले सहजकर्ताकाे भूमिकामा थिए । मन्त्री यादव बाहेक अन्य सबै सहभागीले भने आयोजकको उपहार ग्रहण गरेका छन् ।

त्यसअघि भएको उर्जा सम्बन्धी सत्रमा पनि उर्जामन्त्री वर्षामान पुन र सूचना प्रविधि सम्बन्धी सत्रमा सञ्चारमन्त्री गोकुल बास्कोटाले उपहार थामेका थिए ।

आजै बिहानसम्मेलनको उद्घाटन सत्रमा मन्त्री यादवले अग्रासनमा बस्ने सिट समेत पाएका थिएनन् । त्यसपछि उनी झोक्किँदै त्यहाँबाट बाहिरिएका थिए ।

मन्त्री यादवले पत्रकारसहित अन्यका लागि व्यवस्था गरिएको डिजिटल डिस्प्ले भएको हलमा बसेर उद्घाटन सत्र हेर्नु परेको थियो ।
विगतको लगानी सम्मेलनमा उद्योग मन्त्रालयको विशेष भूमिका रहने गरेको भएपनि यसपटक उद्योग मन्त्री यादव भूमिकाविहिन छन् ।

तपाईको प्रतिक्रिया