नेपाल बार एसोसिएसनको चुनाव आज

चैत १६, काठमाडौं । देशभरिका कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्वका लागि शनिबार मतदान हुँदैछ। बारले मतदानबाट आफ्नो तीन वर्षे कार्यकालका लागि २५ औंँ नेतृत्व चयन समेत गर्दैछ। काठमाडौंँ उपत्यकाभित्र र बाहिरको सबै मतदान केन्द्रमा मतपत्र पठाइसकेको निर्वाचन समितिका संयोजक दामोदर खडकाले बताए। उनले शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न हुने दाबी गरे। २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षमा आठ जना, महिला उपाध्यक्ष, प्रदेश ३ को उपाध्यक्ष एवं महासचिव पदमा तीन\तीन जना र बाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ। काठमाडौं उपत्यकाभित्र सर्वोच्च अदालत, नेपाल बार एसोसिएसन, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा मतदान केन्द्र छन्। देशभरिमा कुल १० हजार ३१३ मतदाता रहेको बार एसोसिएसनमा काठमाडौँ उपत्यका भित्र छ हजार पाँच सय र बाहिर तीन हजार ८१३ जना सदस्य छन्। यसैगरी काठमाडौं बाहिर ३४ मतदान केन्द्र तोकिएको छ। सबै मतदान केन्द्रमा मतपत्र, मतदाता नामावली, निर्वाचन आचारसहिंता, स्थानीय मतदान समितिका प्रतिनिधिको विवरण पठाइसकिएको निर्वाचन संयोजक दामोदर खड्काले जानकारी दिए। बार एसोसिएसनको मतदानको लागि १९६ मतदाताले मतदान केन्द्र स्थानान्तरण गराएका छन्। देवनाथ बर्माको संयोजकत्वमा २०१३ साल पुस २८ गते नौ सदस्यीय समितिबाट बार एसोसिएसनको गठन भएको थियो। स्थापना भएपछि नागरिकको संवैधानिक, मौलिक र न्यायिक हक सुनिश्चित गर्न अग्रस्थानमा रहेर कानुन व्यवसायीहरूको छाता सङ्गठन बारले आन्दोलन गर्दै आएको छ।

थाहा खबर बाट

तपाईको प्रतिक्रिया