स्थापना दिवस मनाउँदै पत्रकार महासंघ

चैत १६, काठमाडौं । नेपाल पत्रकार महासंघले ६४औँ स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसको अवसरमा महासंघ केन्द्र र जिल्ला शाखाहरूले शनिबार विभिन्न कार्यक्रम गर्दैछन् । महासंघको केन्द्रीय कार्यलयमा सम्मान कार्यक्रम आयोजना हुँदैछ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा दिउँसो १२ बजे महासंघका पूर्वसभापतिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिए। यस्तै महासंघले कास्की र सुनसरी शाखालाई पनि सम्मान गर्ने भएको छ। कार्यक्रममा महासंघले आयोजना गरेको फुटसल प्रतियोगिताका विजयीलाई प्रमाणपत्र वितरण गर्ने सचिव दाहालले जानकारी दिए। २०११ साल चैत १६ गते महासंघको स्थापना भएको हो। महासंघको स्थापना दिवसका अवसरमा अध्यक्ष गोविन्द आचार्यले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित नेपाली सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई शुभकामना दिएका छन्। नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको गौरवपूर्ण इतिहासप्रति गौरव भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया