नेपाली कांग्रेसको आग्रहमा सुनुवाई समितिको बैठक सारियो

१७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा संसदीय सुनुवाई समितिको बैठक दुई दिन पछि सारिएको छ । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाको सुनुवाई प्रक्रिया सुरु गर्न आइतबार बोलाइएको बैठक कांग्रेसको आग्रहमा दुई दिन पछि सारेर मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।
संवैधानिक परिषदको केही दिनअघिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त बैठकमा परिषद सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित थिएनन् ।

आइतबारको सुनुवाइ समितिको बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले परिषदको सिफारिसका विषयमा सभापति देउवासँग छलफल गर्नुपर्ने भएकाले बैठक १० दिन पछि सार्न माग गरेका थिए । काठमाडौं बाहिर रहेका देउवा फर्किएपछि सल्लाह गर्ने भन्दै उनीहरुले १० दिनको समय मागेका थिए ।

सुनुवाइ समितिमा उपस्थित कांग्रेसका भीमसेनदास प्रधान र जितेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षी दलको नेताको उपस्थितिविनै संवैधानिक परिषदको बैठक बसेर महत्वपूर्ण निर्णय गर्नु ठीक नभएको बताए ।

‘संविधानअनुसार प्रमुख प्रतिपक्षी दलको उपस्थितिमा मात्र परिषदले निर्णय गर्नुपर्छ । लगातार तीनवटा बैठकमा अनुपस्थित भएमा मात्र निर्णय गर्नुपर्छ । तर यसपटक त्यो गरिएन’ उनले भने । सभापति देउवाले परिषदलाई चैत ११ गतेसम्म मेरो व्यस्तता छ र २२ गतेसम्म अन्य पूर्वनिर्धारित कार्यक्रम भएकाले २२ गतेपछि गरौं भन्ने प्रस्ताव गर्दा बेवास्ता गरिएको उनले बताए ।

सुनुवाइ समितिमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने अर्का सदस्य जितेन्द देवले प्रमुख प्रतिपक्षलाई साथमा लिएर प्रधानमन्त्री हिँड्न नसकेको बताए । ‘संवैधानिक परिषदको निर्णय परिपक्व भएन । हामीले परिपषदको कार्यशैलीप्रति टिप्पणी गरेका हौं, प्रस्तावित व्यक्तिप्रति होइन, त्यसैले केही दिन पछाडि सारौं’ उनले भने ।

यसअघि संवैधानिक परिषदले प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, थारु आयोग र मधेसी आयोगका अध्यक्ष सिफारिस गर्दा पनि देउवा उपस्थित थिएनन् । उनीहरुको संसदीय सुनुवाईको क्रममा कांग्रेसले संवैधानिक परिषदको निर्णय अवैधानिक भन्दै सुनुवाइ समितिको बैठक नै बहिस्कार गरेका थिए ।

सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले अघिल्लो पटक प्रतिपक्षले बहिस्कार गर्नु दुखद भएको भन्दै यसपटक उनीहरुको मागअनुसार नै बैठक पछि सारिएको बताए । नेकपाबाट समिति सदस्य रहेका योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल र आयोगमा सिफारिस व्यक्तिको ४५ दिनभित्र नियुक्त गर्नुपर्ने व्यवस्थालााई ध्यानमा राखेर मंगलबारका लागि बैठक बोलाइएको बताए ।

तपाईको प्रतिक्रिया