काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो ।अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई रु ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई रु ३५ हजार घुससहित रङ्गेहात नियन्त्रणमा लिएको बताए ।नेपालगञ्ज भन्सार कार्यालयका नासु चन्दले आयात हुने सामानको सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ५२ हजार घुस लिएको अवस्थामा र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका प्रमुख श्रीवास्तवले गुणस्तर प्रमाणीकरण गरिदिएवापत सेवाग्राहीको काम सम्पन्न भएपछि रु ३५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।
(२२ फाल्गुण २०७५, बुधवार १.५५ मा प्रकाशित )
सुरेश आचार्य । २०७५ फाल्गुन २२, बुधबार