सीके राउतसँग असाधारण निर्णय क्षमता : प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल सरकार र सीके राउतको नेतृत्वमा रहेको स्वतन्त्र मधेश गठबन्धनले एउटा राजनीतिक सहमति गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राउतको प्रशंसा गरेका छन्।

एघारबुँदे सहमतिमा औपचारिक रूपमा हस्ताक्षर भएपछि बोल्दै प्रधानमन्त्री ओलीले राउतसँग असाधारण निर्णय क्षमता भएको टिप्पणी गरे।उनले त्यस्तो क्षमता पहिला तत्कालीन माओवादी पार्टीका नेता प्रचण्डसँग मात्र भएको देखेको बताए।ओलीले भने, “उहाँले समग्र राष्ट्रिय एकता र समृद्धिमा प्रवेश गर्नुभएको छ। यो साधारण निर्णय हैन।”

शुक्रवार भएको सहमतिअनुसार पृथक्तावादी अभियान चलाउँदै आएको सो समूहले नेपालको अखण्डतालाई स्वीकार्ने र संविधानअनुसार लोकतान्त्रिक विधि पालना गर्ने भएको छ।सरकारले पनि सो गठबन्धनका नेता तथा कार्यकर्ताविरुद्ध लागेका मुद्दा फिर्ता गर्ने भएको छ। थुनामा भएका सो समूहका कार्यकर्ता र समर्थकलाई नि:शर्त रिहा गरिने पनि सहमतिमा उल्लेख छ।प्रधानमन्त्री ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापाले नेपाल सरकारका तर्फबाट र राउतले आफ्नो गठबन्धनबाट सो राजनीतिक सहमतिमा हस्ताक्षर गरेका हुन्।

Source : BBC Nepali

(२४ फाल्गुण २०७५, शुक्रवार, १६.४७ मा प्रकाशित )

 

तपाईको प्रतिक्रिया