सरकारको स्पष्टीकरणसिके राउतसँग जनमत संग्रहको सहमति भएको छैन !

काठमाडौ । सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ । शुक्रबार भएको ११ बुँदे सहमतिलाई सिके राउत स्वयंले जनमत संग्रह गर्ने सहमतिका रुपमा ब्याख्या गरेपछि सत्तारुढ र विपक्षी सांसदहरुले प्रश्न उठाएका थिए । लगतै गृहमन्त्री रामबहादुर थापा बादलले स्पष्टीकरण दिएका छन् । गृहमन्त्री रामबहादुर थापाले सरकार र सिके राउतबीच भएको सहमतिमा कहिँकतै पनि जनमत संग्रह गराउने भन्ने नभएको बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापा राउतसँग राजनीतिक सहमति भएको र उनले स्वतन्त्र मधेसको लक्ष्य परित्याग गरेको बताए। मन्त्री थापाले सरकार(राउतबीचको ११ बुँदे सहमतिमा दुई कोणबाट प्रश्न उठेको बताए। उनले सहमतिमा भएको जनअभिमत शब्दको अर्थ ‘कमन सेन्स’ लगाउँदा पनि जनमत संग्रह नहुने जिकिर गरे। यसअघि सत्तारूढ र प्रतिपक्षी सांसदहरूले सहमतिबारे विभिन्न प्रश्न राखेका थिए। सांसदहरूले सरकारसँगको सहमति हस्ताक्षर कार्यक्रममै राउतले सरकारले आफ्ना माग स्वीकारेको र जनमत संग्रह गर्न तयार भएको अभिव्यक्तिबारे स्पष्ट पार्नु पर्ने माग गरेका थिए। जवाफमा गृहमन्त्री थापाले सरकारले राउतका माग स्वीकार्नुको साटो उनले नै आफ्ना माग परित्याग गरेको कुरा सहमतिको बुँदा नम्बर १ मा उल्लेख भएको बताए। उनले अहिलेसम्म राउत समूहको नाम स्वतन्त्र मधेस गठबन्धन भएकाले सहमतिमा त्यसैलाई उल्लेख गरिएको र पछि उनीहरूले त्यो नाम परिवर्तन गर्ने विश्वास व्यक्त गरे ।

(२५ फाल्गुण २०७५, शनिवार, १८.३१ मा प्रकाशित )

 

तपाईको प्रतिक्रिया