६ वटा सम्पदा बस्ती पुनर्निर्माणका लागि प्राधिकरणले छुट्यायो ३० करोड

काठमाडौं ।  राष्ट्रिय पुनर्निर्मााण प्राधिकरणले भूकम्पले क्षति पुर्याएका सम्पदा बस्ती पुनर्निर्माणका ३० करोड रुपैयाँ बजेट निकासा गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यकाका ३ र बाहिरका ३ वटा गरी ६ वटा सम्पदा बस्ती अध्ययनका लागि १ करोड २० लाख र पुनर्निर्माणका लागि ३० करोड रुपैयाँ निकासा गरेको हो ।
काठमाडौं उपत्यकाभित्र र बाहिरका ६ वटा सम्पदा बस्ती अध्ययनका लागि प्रत्येक बस्तीमा २० लाखका दरले तथा पुनर्निर्माणमा प्रत्येक बस्तीका लागि ५ करोड रुपैयाँ बजेट निकासा गरेको हो ।
उपत्यकाभित्रका खोकना (ललितपुर), बुङमती (ललितपुर) र साँखु (काठमाडौं) का परम्परागत सम्पदा बस्तीका स्मारक, पाटी, धारा तथा अन्य संरचना पुनर्निर्माणका लागि बजेट विनियोजन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेलले बताए । आयोजना निर्देशक प्याकुरेलका अनुसार उपत्यकाबाहिर नुवाकोटको साततले दरबार स्क्वायर परिसर, गोरखाको गोरखा दरबार स्क्वायर तथा दोलखाको दोलखा बजार पनि यस कार्यक्रममा समेटिएका छन्।

(२७ फाल्गुण २०७५, सोमवार १९.५२ मा प्रकाशित )

तपाईको प्रतिक्रिया