चीनले भेनेजुएलाको विद्युत् सञ्जाल पुनर्स्थापनाका लागि बुधबार सहयोगको प्रस्ताव राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबर हमला गरेको आरोप भेनेजुएली राष्ट्रपति निकोलास मादुरोले लगाएको केही समयपछि बेइजिङले भेनेजुएलाको ऊर्जा संकट समाधानका लागि सहयोगको प्रस्ताव गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा इतिहासमै लामो समयसम्म ‘ब्ल्याकआउट’ भएपछि मादुरोले आफ्ना अमेरिकी समकक्षी ट्रम्पलाई साइबर हमलाको आरोप लगाएका हुन् ।
रुस र चीनको समर्थन प्राप्त गरेका मादुरोलाई देशभित्र शक्तिशाली सेना र राज्यका अन्य अंगको पनि समर्थन रहेको छ । उनै मादुरोले देशको आर्थिक संकटका पछाडि वासिङ्टनको हात रहेको आरोप लगाउँदै प्रमुख विपक्षी नेता एवं राष्ट्रिय सभाका अध्यक्ष उवान गुआइडोलाई संयुक्त राज्य अमेरिकाको कठपुतली भएको आरोप पनि लगाएको रोयटर्सले उल्लेख गरेको छ । निरन्तर ६ दिनसम्म विद्युत् आपूर्ति बन्द (ब्ल्याकआउट) भएपछि भेनेजुएलाका अस्पतालका उपकरणहरु सञ्चालनमा अत्यन्तै अप्ठेरो भइरहेको छ भने अत्यधिक गर्मीका कारण खानेकुरा कुहिरहेका छन् । देशको प्रमुख टर्मिनल बन्द भएका कारण कुनै पनि देशबाट सामान पनि आयात नभएको रोयटर्सले उल्लेख गरेको छ ।
सुरेश आचार्य । २०७५ फाल्गुन ३०, बिहीबार