छात्रवृत्तिका विशेषज्ञ चिकित्सक परिचालनमा सुगमकेन्द्रित पोस्टिङको रोग कायमै, कहाँ कति ?

सरकारी छात्रवृत्तिमा पढेका विशेषज्ञ चिकित्सक पहिलोपटक देशका विभिन्न अस्पतालमा खटिएका छन् । चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स (वीर अस्पताल) र बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानमा छात्रवृत्तिमा अध्ययन गरेका ८७ विशेषज्ञ चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालमा खटाएको हो ।
परिचालित ८७ छात्रवृत्तिका विशेषज्ञ चिकित्सकमध्ये सबैभन्दा बढी प्रदेश ३ मा २० जना छन् भने सबैभन्दा कम प्रदेश ६ मा ३ जना मात्र खटाइएका छन् । अस्पतालको प्रकृतिका आधारमा सबैभन्दा बढी ३४ जनालाई अञ्चल अस्पतालहरूमा पठाइएको छ भने १५ जनाको कार्यक्षेत्र विभिन्न प्रतिष्ठान तोकिएको छ । सरकारी प्रतिष्ठानअन्तर्गत चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान पाटन अस्पताल, बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान गरी चारवटा प्रतिष्ठानमा विशेषज्ञ पढाइ हुँदै आएको छ । छात्रवृत्तिमा पढेका चिकित्सकले कम्तीमा २ वर्ष सरकारले खटाएको क्षेत्रमा गई काम गर्नुपर्ने कानुनी प्रावधान छ ।
सरकारी प्रतिष्ठानमा छात्रवृत्तिमा अध्ययन गर्ने चिकित्सकमध्ये हाल न्याम्स र बिपी प्रतिष्ठान धरानमा मात्र पहिलो ब्याच पासआउट भएको हो । बाँकी त्रिवि र पाटनमा सरकारी छात्रवृत्तिमा पढिरहेका चिकित्सकको पहिलो ब्याच भने पासआउट हुनेक्रममै छ । उनीहरूलाई अन्तिम परीक्षाको नतिजा अएपछि अवश्यकताअनुसार देशका विभिन्न स्थानमा खटाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले न्याम्सबाट पासआउट भएका ४० र बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका ४७ जना छात्रवृत्तिमा पढेका एमडी, एमएस, एमडिएस चिकित्सकलाई विभिन्न अस्पतालमा खटाएको हो । चिकित्साशिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको सत्याग्रहको मागअनुसार सरकारले सरकारी छात्रवृत्तिमा विशेषज्ञ चिकित्सकको पठन–पाठन सुरु गरेको थियो ।
छात्रवृत्तिमा विशेषज्ञ पढ्ने ६ जना ड्रपआउट, ७ चिकित्सक फेल
सरकारी छात्रवृत्तिमा न्याम्स र बिपी प्रतिष्ठान धरानमा विशेषज्ञ पढाइ सुरु गरेका चिकित्सकमध्ये ६ जनाले बीचमै पढाइ छोडेका थिए भने ७ जना अनुत्तीर्ण भएका थिए । उत्तीर्णमध्ये पनि आँखा विशेषज्ञलाई नेत्रज्योति संघले र आर्मी अस्पतालका चिकित्सकलाई सम्बन्धित अस्पतालले नै खटाउने भएका कारण १० जना विशेषज्ञ चिकित्सकलाई मन्त्रालयले काममा खटाएको छैन ।
प्रदेश १ र ३ मा २०–२० जना, कर्णालीमा ३ जना
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार छात्रवृत्तिमा पढेका विशेषज्ञ चिकित्सकमध्ये सबैभन्दा बढी प्रदेश १ र ३ मा २०–२० जना खटाइएका छन् भने देशकै सबैभन्दा दुर्गम मानिने कर्णालीमा जम्मा ३ जनालाई खटाइएको छ । यद्यपि, सरकारी खर्चमा विशेषज्ञ पढाउनुको मूल मर्म दुर्गमका जनतालाई पनि विशेषज्ञमार्फत स्वास्थ्यसेवा उपलब्ध गराउनु हो । त्यसैगरी, प्रदेश २ मा १७, प्रदेश ५ मा १२, गण्डकी प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ५ जना छात्रवृत्तिका विशेषज्ञ चिकित्सक खटाइएका छन् ।
एउटै प्रदेशमा अन्य ३ प्रदेशको कुलभन्दा बढी छात्रवृत्तिका विशेषज्ञ चिकित्सक खटाइनुले सुगमकेन्द्रित परिचालनलाई पुष्टि गर्छ । यद्यपि, मन्त्रालयका जनस्वास्थ्य प्रशासक वसन्त अधिकारी भने आवश्यकताअनुसार छात्रवृत्तिका विशेषज्ञ चिकित्सकको समान र वैज्ञानिक परिचालन गरिएको दाबी गर्छन् । ‘अन्य दुई प्रतिष्ठानबाट पास आउट भएर आउने छात्रवृत्तिका विशेषज्ञ चिकित्सकलाई पनि यसैगरी आवश्यक भएको स्थानमा परिचालन गर्छौं,’ अधिकारीले भने ।
अञ्चल अस्पतालमध्ये कोसीमा मात्र ७ जना,
छात्रवृत्तिमा पढेका विशेषज्ञ चिकित्सकमध्ये ३४ जनालाई मन्त्रालयले विभिन्न ११ वटा अञ्चल अस्पताल कार्यक्षेत्र तोकेको छ । त्यसमध्ये सबैभन्दा बढी प्रदेश १ को कोसी अञ्चल अस्पतालमा ७ जना खटाइएका छन् । त्यसैगरी प्रदेश १ कै सगरमाथा अञ्चल अस्पतालमा ४ जनालाई खटाइएको छ ।
सुदूरपश्चिम प्रदेशको सेती अञ्चल अस्पतालमा ४ जना छात्रवृत्तिका विशेषज्ञ चिकित्सक खटाइएका छन् । त्यसैगरी, प्रदेश ३ को भरतपुर अस्पताल, प्रदेश २ को जनकपुर अञ्चल अस्पताल, प्रदेश ५ को भेरी अञ्चल अस्पताल, प्रदेश १ को मेची अञ्चल अस्पताल र गण्डकी प्रदेशको धौलागिरि अञ्चल अस्पतालमा ३–३ जना विशेषज्ञ चिकित्सक खटाइएका छन् । त्यसैगरी, प्रदेश ३ को भरतपुर हस्पिटल, चितवनमा २ जना विशेषज्ञ चिकित्सकको कार्यक्षेत्र तोकिएको छ । अञ्चल अस्पतालमध्ये सबैभन्दा कम प्रदेश ५ को लुम्बिनी अञ्चल अस्पतालमा १ जना छात्रवृत्तिका चिकित्सक खटाइएका छन् ।
११ जिल्ला अस्पतालमा १३ जना
छात्रवृत्तिका विशेष चिकित्सकमध्ये १३ जनाको कार्यक्षेत्र विभिन्न ११ जिल्ला अस्पताल तोकिएको छ । यसमध्ये भक्तपुर र जलेश्वर जिल्ला अस्पतालमा २–२ जना खटाइएका छन् भने बाँकी ९ वटा जिल्ला अस्पतालमा १–१ जना विशेषज्ञ चिकित्सक पठाइएको छ । धादिङ, पाल्पा, भोजपुर, हुम्ला, पर्वत, स्याङ्जा, सिन्धुली, लहाल (सिरहा) र तनहुँ जिल्ला अस्पतालमा १–१ जना खटाइएका हुन् ।
४ वटा प्रदेशका ५ प्रतिष्ठानमा १५ जना
छात्रवृत्तिका १५ विशेषज्ञ चिकित्सकको कार्यक्षेत्र मुलुकका ४ वटा प्रदेशका ५ वटा प्रतिष्ठान तोकिएको छ । प्रतिष्ठानमध्ये प्रदेश १ को बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा सबैभन्दा बढी ६ जना छात्रवृत्तिका विशेषज्ञ चिकित्सक खटाइएका छन् । त्यसैगरी ५ जनाको कार्यक्षेत्र प्रदेश ५ को राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान दाङ तोकिएको छ । त्यस्तै, पोखरा प्रतिष्ठानमा २ जनालाई खटाइएको छ । उपत्यकाका पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पतालमा १–१ जना विशेषज्ञ चिकित्सकले मौका पाएका छन् ।
४ केन्द्रीय अस्पतालमा ५ जना, विशिष्टीकृतमा १ जना
मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकमध्ये ५ जनालाई राजधानीका ४ वटा केन्द्रीय अस्पतालमा खटाएको छ, जसमध्ये कान्ति बाल अस्पतालमा सबैभन्दा बढी २ जनाले अवसर पाएका छन् । त्यसैगरी, न्याम्स (वीर अस्पताल), वीर अस्पताल, टेकुस्थित इपिडिमिओलोजी शाखामा १–१ जना खटाइएका छन् ।
विशिष्टीकृत अस्पतालमध्ये एउटामा मात्र छात्रवृत्तिका विशेषज्ञ चिकित्सक खटाइएका छन् । मन्त्रलयले बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा एकजना छात्रवृत्तिका विशेषज्ञ चिकित्सकलाई खटाएको हो । यद्यपि, सरकारले प्रतिपक्षी कांग्रेसको चर्को विरोधपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई पनि केन्द्र सरकारमातहत सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
क्षेत्रीय अस्पतालमा १, उपक्षेत्रीयमा ४ जना
मन्त्रालयले नारायणी र मध्यपश्चिम क्षेत्रीय अस्पतालमा गरी जम्मा ५ जना छात्रवृत्तिका विशेषज्ञ चिकित्सक खटाएको छ । प्रदेश २ को वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ४ जना खटाइएका छन् । त्यसैगरी, प्रदेश ६ को सुर्खेतस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भने १ जनालाई मात्र खटाइएको छ ।
स्तरोन्नति गरिएका अस्पतालमा ५ जना
मन्त्रालयले मुलुकका विभिन्न स्तरोन्नति गरिएका ५ अस्पतालमा १–१ जना छात्रवृत्तिका विशेषज्ञ चिकित्सक खटाएको छ । छात्रवृत्ति विशेषज्ञ चिकित्सक खटिने स्तरोन्नति गरिएका अस्पतालमा चितवनको भगौडा अस्पताल, तनहुँको बन्दीपुर अस्पताल, झापाको दमक अस्पताल, सुनसरी जिल्ला अस्पताल र मोरङको मंगलबारा अस्पताल छन् ।
५० बेडका ९ अस्पतालमा ९ जना
छात्रवृत्तिमा विशेषज्ञ अध्ययन गरेका चिकित्सकमध्ये ९ जनालाई मन्त्रालयले ९ वटा ५० बेडका अस्पतालमा खटाएको छ । जाजरकोट जिल्ला अस्पताल, नुवाकोट जिल्ला अस्पताल, रौतहट जिल्ला अस्पताल, उदयपुर जिल्ला अस्पताल, हेटौँडा अस्पताल, नवलपरासीको परासी अस्पताल, प्युठानको प्युठान अस्पताल, सर्लाहीको सर्लाही अस्पताल र कैलालीको टीकापुर अस्पतालमा १–१ जना विशेषज्ञ चिकित्सक खटाइएका हुन् ।
Source: Health Post Nepal
तपाईको प्रतिक्रिया