‘सुपरम्यान फ्लाइङ’ को अनुभव बटुल्न जाने होइन त धुलिखेल?

धुलिखेल । काठमाडौंदेखि धुलिखेलसम्मको दूरी करिब ३१ किलोमिटर। त्यहाँबाट करिब २ किलोमिटर अगाडि पाँचखालतर्फ बढ्दा बाटोसँगै कालो बोर्डमा सेतो अक्षरले लेखिएको छ।- सुपर जिपलाइन, धुलिखेल, थाक्ले।

त्यही साइन बोर्डलाई पछ्याउँदै गयो भने पुगिन्छ एड्भेञ्चरस् र रोमाञ्चक खेल  जिप लाइन खेल्ने  ठाउँ।

प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’  को मजा लिन अब उपत्यकावासीका लागि यो धेरै टाढाको गन्तब्य होइन।

काभ्रेपलाञ्चोकको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेपछि टाढा पुग्नुपर्ने अवस्थाको अन्त भएको हो। कास्कीको पोखरापछि उक्त खेल यही फागुनदेखि धुलिखेलमा सञ्चालनमा आएको छ।

एउटा रमाइलो कुरा के भने यो स्टेशनले धुलिखेल र पाँचखाललाई जोडेको छ।

धुलिखेलको थाक्लेडाँडादेखि शुरु हुने जिप लाइन पाँचखालको खावामा पुगेर अन्त्य हुन्छ। थाक्लेडाँडादेखि खावासम्म सञ्चालन हुने जिप लाइनको दूरी करीब एक हजार १०० मिटरको छ । समुद्रसतहदेखि एक हजार ३०० मिटर उचाइबाट शुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र छ ।

यो पर्यटकीय गन्तब्यलाई पर्यटन वर्ष २०२० र धुलिखेललाई पर्यटकीय क्षेत्र बनाउने उद्धेश्यसहित सञ्चालन गरेको सञ्चालकद्वय केदार थापा र भुपेश श्रेष्ठलेले जानकारी दिए।

स्थलगत अध्ययन र सम्बन्धित निकायको अनुमति पाएपछि उनीहरूले वर्ल्ड वाइड एड्भेञ्चर कम्पनी दर्ता गराएर यो प्रोजेक्ट नेपालमा भित्र्याएका हुन्। दुई महिना अघि मात्रै जिपलाइन प्रोजेक्ट सकाएका उनीहरूले अझै फिनिसिङका केही कामहरू बाँकी रहेको जानकारी गराए।

यसो त यो जिपलाइन बनाउने सोच आफ्नो नभएको सञ्चालक केदारले बताए। उनका भाइ बद्री थापा क्यानडामा बस्छन्। उनैले त्यहाँ खेलाइने जिप लाइन हेरेपछि आफ्नो देशमा पनि बनाउन सकिने बताएपछि ‘गरी हेरौं’ भनेर अगाडि  बढेको उनी सम्झन्छन्।

‘खासमा मेरो भाइ क्यानडामा बस्छ। उसैले त्यहाँ देखेर नेपालमा पनि काम गर्न सुझाए। त्यसपछि हामीले पनि एकपटक गरि हेरौं न त भनेर अगाडि बढेका हौं’, उनले सेतोपाटीसँग भने।

यसअघि नेपालमै पहिलो पटक पोखरामा साधारण जिप लाइन सुरू भए पनि धुलिखेलमा सुरू भएको सुपरम्यान र टेन्डम (जोडी) जिप लाइन नेपालमै पहिलो पटक भएको हो।

अरनिको राजमार्ग हुँदै आवातजावात गर्ने आन्तरिक तथा बाह्य पर्यटक र धुलिखेललाई पर्यटकीय क्षेत्र बनाउने उद्धेश्यले यही ठाउँ रोजेको सञ्चालक केदारले बताए।

‘काठमाडौंबाट नजिकमा पर्ने र सबैलाई पायक पर्ने भएकोले यही रोजियो,’ उनले भने।

यो प्रोजेक्ट बनाउन स्थानीय सरकारले पनि सक्दो सहयोग गरेको केदारले बताए।

प्रोजक्ट लगभग अन्तिम चरणमा छ। जिप लाइनको सम्पूर्ण काम सकिएको र चिल्ड्रेन एड्भेञ्चर क्याम्प तथा रेस्टुरेन्ट र लज भने निर्माणाधीन अवस्थामा छन्।

सञ्चालकद्वय केदार थापा (बायाँ) र भुपेश श्रेष्ठ(दायाँ)।

 

यहाँ साना बालबालिकाका लागि छुट्टै जिपलाइन छ । यस्तै चिल्ड्रेन एड्भेञ्चर क्याम्पसहित, रिसोर्ट निर्माणाधीन छ ।

१६ वर्ष मुनिका बालबालिकालाई प्राथमिकता दिएर चिल्ड्रेन उड्भेञ्चर क्याम्प बनाउन लागिएको र केही  दिनभित्रै सो काम पनि सम्पन्न हुने अर्का लगानीकर्ता भुपेश श्रेष्ठले जानकारी गराए।

१६ वर्ष उमेर माथिकालाई माथिल्लो र १६ भन्दा कम उमेरकालाई खावास्थित तल्लो स्टेशनमा जिप लाइन खेलाइन्छ ।

‘हामीले युवा वर्गलाई मात्र नभएर बालबालिकालाई पनि लक्षित गरेर आठ वटा विभिन्न किसिमका खेल बनाउन लागेका छौं र यो काम केही दिन भित्रै सकिने लक्ष्य लिएका छौं, सम्भवत अर्को साता उद्घाटन गर्ने कार्यक्रम छ,’ उनले सेतोपाटीसँग भने।

खावास्थित ल्यान्डिङ स्टेशनमा करिब ७० रोपनी जग्गामध्ये हाल २० रोपनी जग्गामा  मात्र काम भइरहेको छ। भविष्यमा बाँकी ५० रोपनीमा विभिन्न एड्भेञ्चर गतिविधि सञ्चालन गर्ने सोच कम्पनीको रहेको छ।

करिब ७ करोड लागतमा बन्न लागेको उक्त परियोजनामा हालसम्म ४ करोड बढी खर्च भएको कम्पनीले जानकारी दिएको छ।

युरोपियन र अमेरिकी सुरक्षा मापदण्डमा आधारित भइ अष्ट्रिया र भारतीय प्रविधिमा निर्माण गरिएकोले सुरक्षा दृष्टिकोणले यो खेल एकदम सुरक्षित रहेको उनीहरू दाबी गर्छन्।

यहाँ साधारण जिप लाइन, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गर्ने सुविधा छ। खेलमा सहभागी हुने पर्यटकका लागि पाँच लाखको दुर्घटना बीमा गरिएको छ । यसका साथै उनीहरूले सुरक्षालाई मध्यनजर गर्दै भारतबाटै सर्टिफाइड र अनुभवी २ जना जिप मास्टर ल्याएका छन्।

जिप लाइन खेल्न चाहने नेपाली र विदेशी पर्यटकको लागि भने शुल्क फरक फरक रहेको छ।

सामान्य सुपरम्यान जोडी
नेपाली २५०० ३५०० ४५००
सार्क राष्ट्र ३० डलर ४०डलर ५० डलर
अन्य ३५ डलर ४५ डलर ६० डलर

अहिले व्यवसायिक रूपमा सुरू नभए पनि आफूले चिने जानेका आफन्त इष्टमित्र साथीभाइ सो खेलको अनुभव लिन आउने गरेका केदारले जानकारी दिए। स्थानीयलाई भने २० देखि ३० प्रतिशतसम्म छुट दिने गरेको उनले जानकारी दिए।

हाल १२/१३ जनामा कर्मचारी कार्यरत भए पनि व्यवसाय विस्तारका क्रममा कर्मचारी बढाउँदै लाने र त्यसमा पनि पहिला स्थानीयलाई नै प्राथमिकता दिने उनीहरूले बताए।

‘हामीले रोमाञ्चक र एड्भेञ्चरस् जिप लाइनको अनुभव मात्र होइन त्यहाँबाट दृश्यावलोकन पनि गर्न सक्छौं। यहाँबाट लाङटाङ दोर्जे फूर्वीच्याचूलगायतका हिमाल  देख्न  सकिन्छ,’ सञ्चालक केदारले भने।

यदि तपाईले पोखराको सामान्य जिप लाइनको अनुभव बटुली सक्नुभएको छ र अब सुपर म्यान र टेन्डम जिप लाइनको अनुभव बटुल्न चाहनु हुन्छ, तपाईंको तौलमा ध्यान दिनुपर्ने हुन्छ।

कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसी पर्यटकले चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गर्छन्। यसरी खेल्दा करीब एक मिनेट हावामा उडेको महसुस हुन्छ । माथिबाट जङ्गल फाँट, बस्ती साथै विभिन्न दृश्यावलोकन गर्दा छुट्टै आनन्द आउने पर्यटक बताउँछन् ।

फलामको लठ्ठा (डोरी) मा घिर्नी जोडिएको हुन्छ । त्यही घिर्नीमा विशेष प्रकारको फितामा झुण्डिएर पर्यटक माथिबाट तल झर्छन् । हावाको वेगमा प्रकृतिको आनन्द लिनलाई यो यो खेल उपयोगी छ।

यसमा फ्लाइङको गति प्रतिघण्टा ६० देखि अधिकतम ९५ किलोमिटरको हुने प्राविधिकले बताएका छन्। बढीमा एक मिनेट २० सेकण्डको समयमा आनन्द लिन सकिने उक्त साहसिक खेलको महत्वपूर्ण पक्ष भनेको ‘सुपरम्यान’ हो ।

कम्पनीले बनाएको मापदण्डअनुसार ६०/६५ किलोभन्दा कम तौल भएकाले सुपरम्यान जिप लाइनको अनुभव लिन पाइदैन।

तर यो कम्पनीको बाध्यात्मक व्यवस्था भने होइन यदि चाहनु हुन्छ भने तपाईंले गर्ने सक्नुहुन्छ। व्यक्तिगत तौल अनुसार बढीमा १ मिनेट २० सेकेण्डमा ११ सय मिटरको दूरी पार सकिनेछ।

यहाँबाट दैनिक ६० जनासम्मले सेवा लिनसक्ने सञ्चालक श्रेष्ठले बताए।

जाने होइन त सुपर म्यान र टेन्डम जिप लाइनको अनुभव बटुल्न धुलिखेल?

Source: Seto Pati

तपाईको प्रतिक्रिया