प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने राजपाको अडान कायमै

काठमाडौं । प्रतिपक्षी राष्ट्रिय जनता पार्टी राजपा नेपालले आज पनि प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको छ । टीकापुर घटनाबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने राजपाको अडान छ । सभामुख कृष्णबहादुर महराले बारम्बार रुलिङ गर्दा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरेपछि बाध्य भएर सदन आन्दोलन थालेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताउनुभयो । सरकारले संसदको रुलिङ नमान्नु दुर्भाग्यपूर्ण रहेको भन्दै नेता यादवले लाल प्रतिवेदन सार्वजनिक नभएसम्म सदनको कामकारवाही अगाडि बढ्न नसक्ने दोहोर्याउनुभयो । लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा सांसद रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय भएको राजपाको बुझाई छ । राजपाको अवरोधका कारण हिजोको बैठक आज दिउँसो २ बजेका लागि सारिएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र मुख्य सचेतक देव गुरुङले सहमतिका लागि राजपा नेताहरुसँगको छलफल जारी राख्नु भएको छ ।

तपाईको प्रतिक्रिया