हावाहुरीको पूर्वानुमान गर्न किन सकेनन् मौसमविदले ?

१८ चैत, काठमाडौं । पछिल्लो समयमा मौसमविदको भविष्यवाणी मिल्दै गएकोमा आइतबारको घटनाले भने मौसमको भविष्यवाणीप्रति प्रश्न उठेको छ । आइतबार बारा र पर्सामा ठूलो धनजनको क्षति हुने गरी भीषण हावाहुरी चल्यो । तर मौसमविदले यति ठूलो हावाहुरी चल्छ भनेर पूर्वानुमान गरेका थिएनन् ।

ठूलो हावाहुरी आउँदैछ भनेर पूर्वानुमान गर्न समस्या हुने गरेको मौसमविदको भनाइ छ । मौसमविद मिनकुमार अर्यालका अनुसार प्रविधिको अभाव र भौगोलिक अवस्थाका कारण ठूलो हावाहुरीको पूर्वानुमान गर्न गाह्रो हुने बताउनुभयो ।

तर सोमबार हिजोजस्तो ठूलो हावाहुरी आउने सम्भावना भने नभएको उहाँको भनाइ छ । पहाडी भेग र पूर्वी तराईका केही ठाउँमा मेघ गर्जन र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

नेपालमा सबै खालका मौसमको पूर्वानुमान गर्ने क्षमता नभएकाले आइतबार तराईमा ठूलो हावाहुरी आउने अनुमान गर्न नसकिएको उहाँले बताउनुभयो । नेपालमा मौसमको पूर्वानुमान गर्ने मोडलले सबै खालको मौसमको पूर्वानुमान गर्न नसक्ने तथा नेपालको भौगोलिक बनावटका कारण पनि मौसम पूर्वानुमानमा समस्या हुने गरेको उहाँको भनाइ छ ।

हावाहुरीको सम्भावना देखिए पनि कति ठूलो र कति सानो भन्न कठिन हुने गरेको मौसमविद् अर्यालले बताउनुभयो । आइतबार पनि सामान्य हावाहुरी आउनसक्ने सम्भावना मोडेलले देखाए पनि अनपेक्षित रुपमा ठूलो हावाहुरी आएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया