बंगालबाट आएको तातो र भू-मध्यसागरको चिसो हावा बारामा भेट हुँदा चल्यो भूमरी


१८ चैत, काठमाडौं । आइतबार साँझ एक्कासी आएको हावाहुरीले र बारा र पर्सामा २७ जनाको ज्यान गएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन्।

राति साढे आठ बजेतिर बेस्सरी चलेको हावाले बाराको फ्रेटा, पर्सौनी, महागढीमाई र सुवर्ण गाउँपालिका र पर्साको वीरगञ्जमा ठूलो मानवीय क्षति गरेको हो।

चैत वैशाखमा साँझपख गड्याङगुडुङ हुनु र हावाहुरी चल्नु सामान्य नै हो। जमिनको सतह तातेर तातो हावा माथि जाने र त्यसमा माथिको चिसो हावा मिसिने हुँदा मनसुन सुरू हुनुअघि पहाडी र तराई क्षेत्रमा यस्तो हुन्छ। तर बारा र पर्सामा आइतबार चलेको हावा हुरी असामान्य थियो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दुई तिरबाट आएका चिसो र तातो हावाका प्रणाली बाराको आकाशमाथि भेट हुँदा भूमरी चलेको हो।

‘एकातिर भू-मध्य सागरबाट आएको पश्चिमी वायुको प्रणाली पोखरा हुँदै दक्षिणपूर्व गइहरेको थियो अर्कोतिर बंगालको खाडी र अरेबियन सागरबाट आएको प्रणाली भारतबाट उत्तरपूर्व गइरहेको थियो,’ अर्यालले भने,‘यी दुई प्रणाली बाराको आकाशमा एकअर्कामा मर्ज हुँदा ठूलो भूमरी र हावाहुरी चल्यो।’

पश्चिमी वायुको प्रणाली जमिनको सतहदेखि तीन किलोमिटर माथिबाट बहन्छ। यो प्रणाली निकै चिसो हुन्छ। बंगालको खाडी र अरेबियन सागरबाट आउने प्रणाली जमिनबाट १ देखि डेढ किलोमिटर माथिबाट जान्छ। पर्याप्त जलवाष्पसहित आउने यो प्रणाली पश्चिमी वायूभन्दा तातो हुन्छ।

‘हिजो साँझ माथिबाट बेगमा गइरहेको चिसो हावा तलबाट त्यसरी नै आएको तातो हावासँग ठोक्किदा तल झर्‍यो। चिसो हावा तल झरेपछि खाली भएको माथिल्लो भागमा तातो हावा गयो। त्यही भूमरी बन्यो,’ अर्यालले भने, ‘प्रि-मनसुनमा यस्तो अन्त पनि हुन्छ। तर त्यहाँ दुइटा बलिया प्रणाली मिलेकाले हावाको गति निकै तीव्र भयो।’


उनका अनुसार हुरी चल्दा हावा प्रतिसेकेण्ड १८ मिटरको गतिमा बहन्छ। हिजो राति बारामा प्रतिसेकेन्ड ३५ मिटरको गतिमा हावा चलेको देखिन्छ।

‘यसको थप अध्ययन गर्न बाँकी छ,’ अर्यालले भने।

यस्तो हावाहुरीको पूर्वानुमान गर्न मिल्दैन?

मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्न सक्छ। त्यसमा पनि पानी पर्ने र नपर्ने बादल लाग्ने/नलाग्ने कुरा मुख्य गरी समेटिन्छ।

‘अचानक आउने यस्तो हावा हुरीको पूर्वानुमान गर्न सक्ने प्रविधि अहिले हामीसँग छैन,’ अर्यालले भने।

सेतोपाटी बाट