हावाहुरीले विद्युतका दुई हजार पोल ढले

रक्सौल-परवानीपुर प्रसारणलाइन ठप्प

१८ चैत, काठमाडौं । बारा र पर्सामा आइतबार राति आएको हुरीबसातका कारण विद्युतीय पोल र प्रसारणलाइनमा क्षति पुग्दा झण्डै १५ करोडको नोक्सानी भएको छ । हावाहुरीका कारण ठाउँ ठाउँमा पोल ढलेको र प्रसारणलाइन समेत क्षतिग्रस्त भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार हावाहुरीले परवानीपुर–वीरगंज ६६ केभी डबल सर्किट लाइनमा क्षति पुग्दा विद्युत आपूर्ति नै बन्द भएको छ । वीरगंज–कलैया ३३ केभी लाइन क्षतिग्रस्त भएको छ ।

यस्तै भारतबाट आयात गरिने १३२ केभी क्षमताको रक्सौल–परवानीपुर प्रसारण लाइन तथा ३३ केभीको रक्सौल–वीरगंज प्रसारण लाइन क्षतिग्रस्त भएको छ । सो प्रसारण लाइनबाट हुने विद्युत आपूर्ति ठप्प भएको छ ।

‘कलैया वितरण केन्द्र अन्तर्गतको विद्युत प्रणालीमा मात्र करिब १००० देखि १५०० विद्युत पोलहरु लडेका छन् र विद्युत तारहरु विभिन्न स्थानमा चुँडिएका छन्’, प्राधिकरणले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कलैयास्थित प्राधिकरणको सवस्टेसनबाट आइतबार बेलुका नै चन्द्रनिगाहपुर सवस्टेसनबाट चार्ज गरी बजार क्षेत्रमा भने विद्युत आपूर्ति सुचारु गराइएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

विद्युत प्रणालीमा पुगेको हानी नोक्सानीको पूर्ण विवरण आइसकेको छैन । ‘प्रारम्भिक अनुसार करिब २००० पोल र कैयौं ट्रान्सफर्मरमा क्षति भइ करिब १०–१५ करोड रुपैयाँ बराबरको हानीनोक्सानी भएको जानकारी प्राप्त भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

हावाहुरीका कारण भएको क्षति र विद्युत आपूर्ति बन्द हुँदा परेको असुविधाप्रति प्राधिकरणले दुःख व्यक्त गरेको छ । साथै जतिसक्दो छिटो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत सेवा सुचारु गराउने काम शुरु भइसकेको प्राधिकरणले जनाएको छ ।

स्थानीय स्तरमा रहेका प्राविधिकलाई पनि समस्या समाधान गरी विद्युत सेवा सुचारु गर्ने कार्यमा खटिन प्राधिकरणको निर्देशन छ ।

तपाईको प्रतिक्रिया