विशेष महाधिवेशन सामना गर्न तयार छु : सभापति देउवा

२१ चैत, मोरङ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुले माग गरेको विशेष महाधिवेशन सामना गर्न आफू तयार रहेको बताउनुभएको छ । उहाँले पार्टीको विशेष महाधिवेशन आव्हान नगर्ने तर उनीहरुले बोलाए सामना गर्न तयार रहेको बताउनुभएको हो ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भन्नुभयो, विशेष महाधिवेशन फेस गर्न तयार छु, पार्टीले बोलाउँदैन, जिल्ला सभापतिहरुले बोलाउँछन् भने बोलाउन्, फेस गर्न तयार छौँ ।’  तर उहाँले पार्टीले भने विशेष महाधिवेशन नबोलाउने दाबी गर्नुभएको छ । पार्टी एक जुट गराएर अगाडि बढ्ने क्रममा रहेकोले भन्दै सभापति देउवाले केही जिल्ला सभापतिहरुको चलखेलले कुनै फरक नपर्ने धारणा राख्नुभयो ।

सभापति देउवाले संवैधानिक क्षेत्रको व्यक्ति नियुक्ति जस्तो निर्णय गर्दा सरकारले कांग्रेससँग सहकार्य नै नगरेको आरोप लगाउनुभयो । उहाँले सरकारले एकलौटी निर्णय गरेकोले प्रतिपक्षी दलको हैसियतले पनि सरकारले गरेका गलत निर्णयका विरुद्ध आन्दोलन गर्ने तयारीमा रहेको बताउनुभयो ।

कांग्रेस सभापति देउवाले न्याय परिषद्को नियुक्तिमा मौन समर्थन गर्नभएको छ । न्याय परिषद्ले गरेको सिफारिस र निर्णयलाई म सही या गलत भन्ने पक्षमा छैन, उहाँले भन्नुभयो । ‘न्याय परिषदले गर्ने निर्णय राजनीतिभन्दा बाहिर हुनु पर्छ’, उहाँले भन्नुभयो, ‘तर परिषद्ले गरेको निर्णय या गलत भनेर टिप्पणी गर्न जरुरी छैन ।’ देउवाले न्याय परिषद्लाई राजनीति हस्तक्षेपबाट मुक्त राख्न पनि जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया