आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतलाई वेस्ट इन्डिजको चुनौती

 

 

आईसीसी।  एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहिबार) भारत र वेस्ट इन्डिज खेल्दैछन् । ओल्ड ट्राफोर्ड स्टेडियममा साँझ हुने यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । सेमिफाइनलमा पुग्नका लागि दुवै टोलीलाई यस खेल निकै महत्वपूर्ण छ ।

दुई पटकको विश्वकप विजेता भारत यसपटक पनि लयमा छ । पहिलो संस्करणदेखि सहभागी भारतले सन् १९८३ र सन् २०११ को विश्वकप जितेको थियो । पहिलो र दोस्रो संस्करणको विजेता वेस्ट इन्डिज पनि बलियो टोली हो । तर, यसपटक वेस्ट इन्डिज त्यति जम्न सकेको छैन । विश्वकपमा टिकि राख्न वेस्ट इन्डिजलाई भारतविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ ।

जारी विश्वकपमा पाँच खेल खेलेको भारत अपराजित छ । नौ अंक बनाएको भारत तालिकाको तेस्रो स्थानमा छ । ६ खेल सकेको वेस्ट इन्डिजले एक खेल मात्र जितेको छ । तीन अंक बनाएको वेस्ट इन्डिज आठौं स्थानमा छ । समग्रमा सन्तुलित भारतमा स्टार र अनुभवी खेलाडीको बाहुल्यता छ । भारतका ब्याट्सम्यान र बलरले उत्कृष्ट खेल खेलिरहेका छन् । यसैगरी विस्फोटक ब्याटिङको पहिचान बनाएको वेस्ट इन्डिजको ब्याटिङ यसपटक खासै चल्न सकेको छैन ।

यसअघिका विश्वकपमा पनि भारत केही बलियो देखिएको छ । विश्वकपमा यसअघि भारत र वेस्ट इन्डिज आठ पटक भिडेका छन् । जसमा भारतले पाँच र वेस्ट इन्डिजले तीन खेल जितेको छ । त्यसैले भारतलाई हराउन नसके वेस्ट इन्डिज आजै विश्वकपबाट बाहिरिने पक्का छ । भारतलाई पनि अगाडी बढ्न वेस्ट इन्डिजको चुनौती पन्छाउनु पर्ने अवस्था छ ।

रातो पाटी बाट

तपाईको प्रतिक्रिया