एपीएफले थ्रीस्टारलाई हरायो

काठमाडौं। एपीएफ क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा एपीएफले थ्री स्टार क्लबलाई ५–२ गोलले हरायो । एपीएफको जितमा रन्जन पुनले दुई गोल गरे । विपिन थापा मगर, समिरज थोकर र रोशन प्रधानले एक–एक गोल गरेका थिए । थ्रीस्टारका दिप्सन राउत र सुमन श्रेष्ठले गोल गरेका थिए ।

समूह ‘बी’ रहेको एपीएफले पहिलो जितसँगै तीन अंक बनाएको छ । दुई खेल सकेको थ्रीस्टारको यो पहिलो हार हो । यसअघि पहिलो खेलमा थ्री स्टारले मनाङ मस्र्याङ्दी क्लबलाई २–२ गोलको बराबरीमा रोकेको थियो । यसैगरी समूह ‘ए’ को अर्को खेलमा एनआरटी र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

एनआरटीका लागि बिबेक राईले गोल गरे । संकटाका अबि पहारीले बराबरी गोल फर्काएका थिए । प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजित प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ ।

लिगकम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली र तेस्रो हुने उत्कृष्ट दुई टोलीले क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्् ।

रातो पाटी बाट

तपाईको प्रतिक्रिया