(सप्तरी), (रौतहट), (पर्सा) र (बाँके) । सप्तरी, रौतहट, पर्सा, बारा र बाँकेका सीमा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएको बाँधलगायत संरचना र निकासमा पुर्याएको अवरोधले नेपाली भूभाग डुबानमा परेको छ । भारतीय पक्षले सप्तकोसीको बहावलाई नियोजित रूपमा पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ३ सय परिवार विस्थापित भएका छन् ।
बहाव फर्काइएका कारण कोसीको पानी ओभरफ्लो हुन थालेको छ । पश्चिमी तटबन्ध भत्किने जोखिम बढेको छ । आफ्ना भूभागको बस्ती जोगाउन भारतीय पक्षले ४ वर्षयता एकतर्फी रूपमा पाइलट च्यानल बनाएको हो ।
दसगजाभित्र एकतर्फी रूपमा भारतले बनाएको बाँधका कारण रौतहट सदरमुकाम गौर जलमग्न भएको छ । शुक्रबार रातिदेखि नै गौर बजार क्षेत्र ५ देखि ७ फिटसम्म डुबानमा परेको छ ।
लालबकैया र वाग्मतीको पानीले सदरमुकाम गौरसहित जिल्लाका ८० प्रतिशत भूभाग डुबानमा परेको छ । बस्तीमा बाढी पसेपछि करिब एक हजारभन्दा बढी घर भत्केका छन् । भारतले २०३२ सालमा आफ्नो भूमि बैरगनियालगायत विहारका सहर बचाउन रौतहट सीमा क्षेत्रमा २० फिटभन्दा अग्लो झन्डै ३० किलोमिटर लामो बाँध बनाएपछि वर्षायाममा नेपाली भूभाग डुबान पर्दै आएको छ ।
बाढीका बेला भारतले गण्डक नहरको हेड रेगुलेटरको ढोका बन्द गरिदिएपछि पर्सा र बारामा गरी ४ स्थानमा नहरको किनार भत्किएको छ । पर्साको मसिहानी, डकैला बहुअरी तथा बाराको त्रिवेणी र नकटुवामा नहर क्षतिग्रस्त भएको छ । लक्ष्मणपुर बाँध र कलकलवा मार्जिनल तटबन्धले बाँकेको सीमावर्ती क्षेत्रका आधा दर्जन वडा जलमग्न हुने जोखिम बढेको छ । २२ दशमलव ५ किलोमिटर लामो तटबन्ध र बाँधका कारण वर्षामा राप्तीको पानी निकास हुन नसक्दा बस्ती डुबानमा पर्छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार ८ किलोमिटर दूरी राख्नुपर्नेमा भारतले सीमामै सडकजस्तो बाँध बनाएको छ । यसले नरैनापुरका झन्डै ५० हजार बासिन्दा प्रभावित छन् । जिल्ला विपद् व्यवस्थापन समितिले डुडुवा, राप्ती सोनारी, नरैनापुर, गंगापुर, मटेहिया, कालाफाँटा, कटकुइया, फत्तेपुर, विनौना, होलिया, कम्दी, कचनापुर, वनकटवा, सीतापुर, राधापुर, खासकुस्मा र नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई उच्च जोखिममा राखेको छ ।
कान्तिपुर बाट
सुरेश आचार्य । २०७६ असार २९, आईतवार