लोकसेवाको विज्ञापन खारेज गर्न माग गर्दै प्रदर्शन

स्थानीय । तहको कर्मचारी भर्नाका लागि गरिएको विज्ञापन खारेज गर्न दवाव दिँदै काठमाडौंको अनामनगरस्थित लोकसेवा आयोगको केन्द्रिय कार्यालय अगाडि बिहीबार प्रदर्शन गरिएको छ ।

स्थानीय तहमा कर्मचारी भर्नाका लागि खुलाइएको सो विज्ञापनमा संंविधानबमोजिम समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतले आयोगको कार्यालय अगाडि २ घण्टा प्रदर्शन गरेका हुन । प्रदर्शनका क्रममा उनीहरुले सो विज्ञापन खारेज गर्न दवाव दिँदै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

आयोगको केन्द्रिय कार्यालयको मूलगेटमा पुगेका प्रदर्शनकारीहरुले संविधान प्रतिकूल हुने गरी आएको सो विज्ञापनको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

संविधानले समावेशी, समानुपातिक सिद्धान्तको आधारमा विज्ञापन खुलाउने स्पष्ट व्यवस्था गरेपनि लोकसेवा आयोगले त्यस विपरित स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन खुलाएको दावी गर्दै सिमान्तकृत समुदायले आन्दोलन गर्दै आएका छन । सो विज्ञापनको परीक्षा भोलि शुक्रबारबाट सुरु हुँदैछ । आन्दोलनरत पक्षले त्यसको मुखैमा लोकसेवा आयोगको कार्यालय अगाडि प्रदर्शन गर्दै सो विज्ञापन खारेज गर्न माग गरेका हुन । त्यस क्रममा प्रहरीले उनीहरुलाई कार्यालयको गेटबाट हटाउने क्रममा घचेटेको थियो । प्रदर्शनकारीहरुले प्रहरीले हस्तक्षेप गरेको भन्दै चर्का नाराबाजी पनि गरेका थिए । सरकारको सिफारिसमा गत जेष्ठ १५ गते लोक सेवा आयोगले सो विज्ञापन खुलाएपछि समावेशी नभएको भन्दै त्यसको विरोध हुँदै आएको छ ।

बिशाल बिश्वोकर्मा

तपाईको प्रतिक्रिया