प्रधानमन्त्रीको स्वास्थ्य सामान्य : शुक्रबार बिहानैदेखि भेटघाटमा व्यस्त

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको छ। बिहीबार ज्वरोका कारण नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओली अस्वस्थ भएकाले सचिवालयको बैठकसमेत अन्तिम समयमा स्थगित भएको थियो। थकित भएकाले अस्वस्थ भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको थियो। शुक्रबार बिहानैदेखि उनी स्वस्थ भएर नियमित काममा लागेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी बिहानैदेखि भेटघाट र आफ्नो काममा लागेका छन्। बिहीबार ज्वरो सहित टाउको दुखेपछि बालुवाटारमानै बस्ने भनिएको पूर्वनिर्धारित नेकपाको सचिवालय वैठक स्थगित गरेरै प्रधानमन्त्रीले आराम लिएका थिए। प्रधानमन्त्रीले आराम लिएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर धेरै अड्कलबाजी सुरु भएको थियो। जसमा पुनः सिंगापुर जाने चर्चा समेत चलेको थियो। अहिले उनी नेकपाको सचिवालय बैठकमा सहभागी भइरहेका छन्। हिजो ज्वरो आएर आराम गरेका प्रधानमन्त्री ओलीको ज्वरो कम भएको र स्वास्थ्य सामान्य बन्दै गए पछि नियमित भेटघाटमा सक्रिय भएको प्रधामन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले बताए। उनले भने ‘हिजो ज्वरो आएको थियो अहिले ज्वरो सामान्य छ, अहिले ज्वरो नाप्दा ९८ डिग्री फरेनाइट छ, बिहानैदेखि भेटघाटमा हुनुहुन्छ।‘ यस्तै डा. शर्माले प्रधानमन्त्री ओलीलाई पुन सिंगापुर लाने निर्णय नभएको समेत बताए। उनले भने, ‘समय मिलाएर फलोअफमा जानु फरक कुरा हो, तर अहिले नै जाने निर्णय भइसको छैन।‘ चिकित्सकका अनुसार सिंगापुरबाट प्रधानमन्त्री स्वास्थ्य परीक्षण गरेर आएपछि पनि पहिलेकै औषधी नियमित रूपमा सेवन गरिरहेका छन्। बिहीबार अस्वस्थ भएपछि तत्काल पुनः सिंगापुर जाने छलफल भएको समाचारहरु बाहिरिएका थिए । तर, तत्कालै सिंगापुर जानुपर्ने अवस्था नरहेको बताइएको छ। सिंगापुरमा १० दिन लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा फेरि समस्या देखिएको हो। प्रधानमन्त्रीलाई ज्वरो आएपछि बिहीबार बस्ने भनिएको नेकपा सचिवालय बैठक नेताहरुबीच अनौपचारिक वार्तापछि बस्दै नबसी स्थगित भएको थियो। १२ वर्षअघि मृगौलामा समस्या देखिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा एक महिनायता लगातार समस्या देखिइरहेको छ। पछिल्लो समय स्वास्थ्यमा समस्या झेलि रहेका प्रधानमन्त्री ओलीको लगातार रगतमा क्रेटिनाइन र प्रोटिन बढी रहेको छ। जसले गर्दा उनलाई प्रत्यारोपण गरिएको मिर्गौलाले विस्तारै काम गर्न छोडेको उनको उपचारमा संलग्लन चिकित्सकहरुले बताउदै आएका छन। प्रधानमन्त्रीको स्वास्थ्य जटिल बनेको अड्कलबाजी बिहीबार दिनभर चलिरहँदा चुप रहेका प्रधानमन्त्रीुख सल्लाहकार विष्णु रिमालले राति ११ बजे प्रधानमन्त्री ओलीको स्वास्थ्यमा कुनै समस्या नरहेको भन्दै सामाजिक सञ्जालमा आफ्ना भनाइ राखेर यसलाई थप शंकाको घेरामा पारिदिएका थिए। सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएलगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले प्रधानमन्त्री केही थकित भएको बताइन्छ ।
थाहा खबर  बाट

तपाईको प्रतिक्रिया