हुवावेमाथिको प्रतिबन्ध ९० दिनका लागि स्थगित

 

चिनियाँ टेलिकम कम्पनी हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्ध ९० दिनका लागि स्थगित भएको छ । अमेरिकाका वाणिज्य सचिवले सोमबार यस्तो घोषणा गरेका हुन् ।

वाणिज्य सचिव विल्बर रोसले फक्स बिजनेस नेटवर्कसँग भनेका छन्, ‘अमेरिकी दूरसञ्चार कम्पनीहरुका लागि एकपटक पुनः ९० दिनको समय छ । केही ग्रामीण कम्पनीहरु हुवावेमा निर्भर छन् । हामी ती कम्पनीहरुलाई हुवावेबाट अलग हुनका लागि केही धेरै समय दिँदैछौँ ।’ उनका अनुसार हुवावेमाथिको प्रतिबन्ध आगामी नोभेम्बर १९ सम्मका लागि स्थगित गरिएको हो ।

हुवावेलाई तीन महिनाको छुट दिँदा उसका उपकरणमा निर्भर अमेरिकी तथा अन्य देशहरुका कम्पनीलाई आफ्नो निर्णय लिनका लागि लामो समय प्राप्त हुनेछ । यसले तत्काल हुवावेका मोबाइल फोन प्रयोगकर्ताले पनि समस्या व्यहोर्नु पर्नेछैन ।

स्मरण रहोस् राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको भन्दै हुवावेमाथि प्रतिबन्धको फैसला गरेका थिए । हुवावेका उपकरणका माध्यमबाट चीनले जासूसी गर्ने गरेको र त्यो अमेरिकाको सुरक्षाका लागि एक ठूलो खतरा बन्न सक्ने आशंका ट्रम्प प्रशासनले गर्दै आएको छ ।

हुवावेमाथिको प्रतिबन्धलाई ३ महिना स्थगित गर्ने अमेरिकी सरकारको उक्त निर्णय पश्चात् अमेरिका र चीनका कम्पनीहरुमा गहिरो प्रभाव पर्नेछ । अब अमेरिकी सरकारले हुवावेलाई अस्थायी लाइसेन्स दिनेछ जसबाट उसले अमेरिकी कम्पनी कम्पनीहरुसँग कारेबार जारी राख्न सक्नेछ ।
अनलाइनखबर

तपाईको प्रतिक्रिया