आत्महत्या दुरुत्साहनमा रवि लामिछानेसहित तीनैजनाविरुद्ध अभियोगपत्र दायर

प्रहरी भन्छ- भीडबाट होइन, अदालतबाट न्याय खोजौं

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको आरोपमा रवि लामिछानेसहित तीन जनाविरुद्ध अभियोगपत्र दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।

यसअघि चितवन प्रहरीले हिरासतमा रहेका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेल तथा नर्स रुकु भनिने अस्मिता कार्कीमाथि १० दिन अनुसन्धान गरी फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । ५–५ दिन गरी १० दिनको म्याद अदालतबाट दुई पटक पाएको र सो अवधिमा प्रहरीबाट भएको अनुसन्धानको सबै विवरण सरकारी वकिल कार्यालयलाई बुझाएको घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का डीएसपी दीपक रेग्मीले बताए । मुलुकी संहिताअनुसार आत्महत्याका लागि दुरुत्साहनको अभियोग पुष्टि भए ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म सजाय हुने व्यवस्था छ ।

आरोपपत्र दायर भएसँगै आजबाटै थुनछेक बहस हुनसक्ने सम्भावना छ । पुडासैनी गत साउन २० मा चितवनको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए । उनले आत्महत्या गरेको बताइएको छ ।

आत्महत्यापछि सार्वजनिक भएको भिडियोमा उनले रविसहित तीनजनाका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् । त्यही भिडियो र अन्य प्रमाणका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।
सीआईबीका डीएसपी रेग्मीले भीडबाट नभई अदालतबाट न्याय खोज्नुपर्ने बताए । यसको सबै न्यायिक निरुपण न्यायालयबाट हुने रेग्मीको भनाइ छ । रवि पक्राउपछि उनका समर्थकले रिहाइको माग गर्दै प्रर्दशन गर्दै आएका छन् ।

बाह्रखरी

तपाईको प्रतिक्रिया