‘ह्याप्पी तिहार’ गीतको लफडामा दुर्गेशलाई खोज्दै प्रहरी, प्रशासनमा उजुरी

काठमाडौं । तीजको बेला ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ गीत गाएर चर्चित बनेका गायक दुर्गेश थापा तिहारको मुखमा गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतले विवादमा तानिएका छन् ।

तिहारको गीतभित्र उनले गाएको ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानूनी रुपमा विवादमा तानिएको छ । तिहारको बेला बियर खाने प्रचार गरेका कारण उनी सामाजिक रुपमा आलोचित समेत बनेका छन् ।

 

कानूनी रुपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । उजुरीको कारवाहीका लागि प्रशासन कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक दुर्गेश थापालाई झिकाउन निर्देशन दिएको छ ।

तिहारको गीतमा दुर्गेशले गाएका छन् –

डन आयो डन,
जा मूला भन्,
राजा हो राजा,
बजाइदिन्छ बाजा,
ए निकाल गाँजा,
खानुपर्छ आज !

प्रशासनको आग्रहमा गायक दुर्गेश थापाको खोजी भइरहेको महाशाखाका एसएसपी सहकुल थापाले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार गायक दुर्गेश थापालाई सम्पर्कमा ल्याएर प्रशासनमा बुझाइने छ ।

उजुरीकर्ताले तिहारको गीतभित्र रहेको गाँजा खाने कुरा संशोधन गर्न माग गरेका छन् । प्रशासन कार्यालयले निवेदकको माग अनुसार कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

गायक दुर्गेश थापाले भने आफूलाई प्रहरीबाट हालसम्म कुनै खबर नआएको  जानकारी दिए ।

Source: Lokaantar

 

तपाईको प्रतिक्रिया