नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक चार घन्टा बन्द

भक्तपुर । नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक चार घन्टा बन्द हुने भएको छ । पहिरो रोकथामको काम गर्न दुईसाताको लागि उक्त सडकखण्ड दिउँसो बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागु हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरेको हो ।
नारायणगढबाट मुग्लिङतर्फ जाने यात्रुबाहक सवारीलाई १५ किलोमा र मालबाहक सवारीलाई दासढुङ्गामा रोकिने छ । त्यस्तै काठमाडौंबाट नारायणगढ जाने यात्रुबाहक सवारीलाई मुग्लिङ्मा र मालबाहक सवारीलाई लेवाटारमा रोकिने जनाइएको छ ।
त्यस्तै पोखरातर्फबाट आउने यात्रुबाहक सवारीलाई बेनिटार र मालबाहक सवारीलाई आबुखैरेनीमा रोकिने प्रहरीले जनाएको छ । सडक विस्तारको काम सकिए पनि केही स्थानमा अझै पहिरोको जोखिम रहेकाले रोकथामको काम अगाडि बढाइएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया