नेपाली विद्यार्थी ठग्दै बंगलादेशी मेडिकल कलेज

काठमाडौं । बंगलादेशमा सरकारले मान्यता नै नदिएका मेडिकल कलेजले झुक्याएर नेपाली विद्यार्थी लैजान लागेपछि नेपाली दूतावासले रोक्न पहल गरेको छ । शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पत्र लेख्दै दूतावासले २१ कलेजमा विद्यार्थी नपठाउन भनेको हो ।

दूतावासले विद्यार्थी नपठाउन भनेका कलेजहरू सरकारले मान्यता नदिएका १४ र त्यहाँस्थित अदालतको आदेशमा सञ्चालन भएका सातवटा छन् । केही वर्षयता एमबिबिएस र बिडिएस अध्ययनका लागि नेपाली विद्यार्थी बंगलादेश जाने क्रम बढेको छ । तर, शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर लिएर गएका विद्यार्थी नै समस्यामा पर्ने गरेका छन् ।

विगतमा केही कलेजमा समस्या भएपछि मेडिकल काउन्सिलले बंगलादेशी मेडिकल कलेजको अवस्थाबारे विवरण मागेको थियो । त्यसपछि दूतावासले बंगलादेशको मेडिकल एवं डेन्टल काउन्सिलबाट प्राप्त विवरण पठाएको हो ।

दूतावासले मान्यताप्राप्त कलेजले विदेशी विद्यार्थीका लागि छुट्याएको कोटाको विवरणसमेत पठाएको छ । विदेशमा अध्ययन गर्न नेपालका विश्वविद्यालयहरूले लिने प्रवेश परीक्षा उत्तीर्ण गरेका तथा नेपाल मेडिकल काउन्सिलको सहमती प्राप्त गरी अध्यनयका लागि जान सक्ने व्यवस्था छ ।

कालोसुचीमा परेका बंगलादेशी विश्वविद्यालय नेपाली विद्यार्थी ठग्दै
कालोसुचिमा परेका बंगलादेशका विश्वविद्यालयले नेपाली विद्यार्थीलाई गलत सूचना दिएर गठी गरेका छन् । अघिल्लो वर्ष नेपाल मेडिकल काउन्सीलले कालोसूचीमा राखेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चित्तागोंग (युएसटिसी)ले नेपाली विद्यार्थीलाई भ्रममा राखेर ठगी गरिरहेको छ ।

काउन्सिलले ०७४ मा युएसटिसिसहित तीन मेडिकल कलेजलाई कालोसूचीमा राखेको थियो । सिल्हेतको जलालाबाद रागिब–राबेया मेडिकल कलेज, सिल्हेत एण्ड हस्पिटल अण्डर द शाहजलाल युनिभर्सिटि अफ साइन्स एण्ड टेक्नोलोजी र गोनोशास्थाया समाज भित्तिक मेडिकल कलेज, साभार अण्डर गोनोस्वास्थाया युनिभर्सिटीलाई कालोसूचीमा राखेको थियो ।

दुतावासले पठाएको बिबरणमा युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चित्तागोंग (युएसटिसी) मान्यता प्राप्त संस्थाको सूचीमा छैन । पहिले सो संस्थाले एमबिबिएस कार्यक्रम सञ्चालन गरे पनि अहिले सरकारले एमबिबिएसका कार्यक्रम बन्द गरेको छ । नेपाली मिडियामा गरेको विज्ञापनमा युएसटिसी सिएमयूबाट सम्बन्धनप्राप्त भएको उल्लेख छ । सोही बिज्ञापनमा सानो अक्षरमा इन्स्टिच्युट अफ अप्लाइड हेल्थ साइन्सेस (आइएएचएस) को नाम जोडेर विद्यार्थीलाई भ्रम सिर्जना गरेको छ ।

दुई वर्ष पहिले मापदण्ड अनुसार सञ्चालन नभएका कारण २४ मेडिकल कलेज कालोसूचीमा परेका थिए । विद्यार्थी भर्ना गरेर मापदण्ड अनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एण्ड डेन्टल काउन्सील (बिएम एण्ड डिसी)ले २१ वटा र नेपाल मेडिकल कलेजले थप तीन कलेजमा विद्यार्थी भर्ना लिन रोक लगाएको थियो । मापदण्ड पुरा नगरेका कलेजमा अध्ययन गर्ने झण्डै दुई सय नेपाली विद्यार्थी समस्यामा परेका थिए ।

यसपालि सात सयले लिइसके अनुमती
नेपाल मेडिकल काउन्सिलबाट एमबीबीएस अध्ययनका लागि बंगलादेश जान यसपालि सात सय विद्यार्थीले स्वीकृती लिएका छन् । काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीका अनुसार सोमबारसम्म ७ सय विद्यार्थीले बंगलादेश अध्ययनका लागि स्वीकृत लिइसकेका छन् । काउन्सिलका अनुसार यो संख्या अझै बढ्ने देखिएको छ । गत वर्ष करिब पाँच सयले बंगलादेशमा एमबिबिएस अध्ययनका लागि अनुमति लिएका थिए ।

बंगलादेशका कलेज

  •  अइची मेडिकल कलेज, उत्तरा ढाका
  •  केयर मेडिकल कलेज
  •  शाह मोख्दुम मेडिकल कलेज, राजशाही
  •  आर्मी मेडिकल कलेज, जसोर
  •  आर्मी मेडिकल कलेज, कुमिला
  •  आर्मी मेडिकल कलेज, बोगुरा
  •  रंगपुर आर्मी मेडिकल कलेज, रंगपुर
  •  मोनोअरा सिक्दर मेडिकल कलेज
  •  खुल्ना सिटी मेडिकल कलेज
  •  नाइटिङ्गल मेडिकल कलेज
  •  कम्युनिटी बेस मेडिकल कलेज (डेन्टल युनिट)
  •  इब्राहिम मेडिकल कलेज (डेन्टल युनिट)
  •  ढाका नेसनल मेडिकल कलेज (डेन्टल युनिट)
  •  ख्वजा युनुस अली मेडिकल कलेज (डेन्टल युनिट)

अदालतको आदेशमा चलेका, तर नेपालबाट विद्यार्थी नपठाउन सिफारिस भएका कलेज

  •  सहबुद्दिन मेडिकल कलेज
  •  नर्थन इन्टरनेसनल मेडिकल कलेज
  •  आसियन मेडिकल कलेज
  •  नर्थन (प्राइभेट) मेडिकल कलेज
  •  केयर मेडिकल कलेज
  •  अइची मेडिकल कलेज
  •  नाइटिङ्गल मेडिकल कलेज
तपाईको प्रतिक्रिया