कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।

औपचारिक रुपमा सार्वजनिक नगरिएपछि परीक्षणमा सहभागि प्राविधिकहरुले दिएको जानकारी अनुसार मृतक युवाको स्वावमा कोरोना संक्रमण देखिएको छ । योसँगै कर्णालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । गत शनिबार दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा र पाल्पामा एक/एक जनाको मृत्यु भइसकेको छ ।

स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गरिएको छ । साथै शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली हिँडेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले जानकारी दिए । पञ्चपुरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष धनबहादुर थापाले नजिकैको जंगलमा मृतक युवाको दाहसंस्कार गर्ने तयारी भएको जानकारी दिए ।

जेठ पहिलो साता भारतको मुम्बईबाट आएका युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका थिए । बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । तर, राति घर पुगेका उनी घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा बसेका थिए । वडाध्यक्ष थापाका अनुसार ती युवासँगै अन्य ६ जना पनि सँगै बसेका थिए । वडाध्यक्ष थापाले कोरोना पुष्टि भएपछि उनीसँगै आएका अन्य युवा र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको पनि स्वाब परीक्षण गर्ने तयारी भइरहेको बताए । युवाको बुवाले शव छोएकाले उनको पनि परीक्षण गरिने थापाको भनाई छ ।

तपाईको प्रतिक्रिया