दशैंअघि नै दशरथ रंगशालामा नेपाल र अष्ट्रेलिया खेल्ने

काठमाडौं – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत स्थगित भएका दोस्रो चरणको स्थगित भएको खेलहरुको नयाँ मिति सार्वजनिक भएको छ ।

कोरोना संक्रमणका कारण स्थगित भएका खेलहरुको नयाँ मिति शुक्रबार एएफसीले सार्वजनिक गरेको छ । यसअघि विश्वकप छनोटका लागि दशरथ रंगशाला तयार रहेपनि कोरोना संक्रमणका कारण खेल स्थगित भएको थियो । अब नयाँ खेल तालिका अनुसार नेपालले दशैं र तिहारअघि आफ्नो खेल खेल्नेछ ।

छनोट अन्तर्गत समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी तीनै खेल आफ्नो घरेलु मैदान दशरथ रंगशालामा खेल्ने कार्यक्रम रहेको छ । सुरुवात पांच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ । पाँच राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ ।

नेपालले पछिल्लो पटक घरेलु मैदान तयार नहुँदा कुवेतसँगको खेल भुटानको चाङलिमिथाङ मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल १-० ले पराजित भएको थियो । त्यसअघि खेलेका ४ अवे खेलमध्ये नेपालले चाइनिज ताइपेइको मैदानमा २-० को जित हासिल गरेको थियो । उक्त जितमा दुवै गोल अन्जन विष्टले गरेका थिए ।

नेपालले पहिलो खेलमा कुवेतको मैदानमा ७-० को हार बेहोरेको थियो । दोस्रो खेलमा जित दर्ता गरेपछि अष्ट्रेलिया पुगेको नेपाली टोलीले त्यहाँ ५-० को हार बेहोरेको थियो । चौथो खेलमा नेपाल जोर्डनको मैदानमा ३-० ले पराजित भएको थियो । अब नेपालले घरेलु मैदानमा चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्ने कार्यक्रम रहेको छ ।

नयाँ खेल तालिका अनुसार नेपालले असोज २२ (८ अक्टोबर)मा चाइनिज ताइपेइसँग खेल्नेछ भने अष्ट्रेलियासँग त्यसको पाँच दिन पछि (असोज २७ गते) प्रतिस्पर्धा गर्नेछ । २७ कार्तिक (१२ नोभेम्बर)मा जोर्डनसँग खेल्दै नेपालले आफ्नो विश्वकप छनोट सम्पन्न गर्नेछ ।

पाँच राष्ट्र सम्मिलित समूहको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणमा सहभागी हुन पाउनेछ । दोस्रो हुने उत्कृष्ट चार टोली पनि विश्वकपको तेस्रो चरणका साथै एसियन कपमा अगाडी बढ्नेछन् भने तेस्रो स्थानसम्मका टोली एसियाली कपको छनोटको तेस्रो चरणमा छनोट हुनेछन् । समूहको उत्कृष्ट ४ चौथो हुने टोली एसियाली कप छनोटको तेस्रो चरणमा पुग्दा बाँकी टोलीले उक्त छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।

हालसम्मको नतिजा हेर्दा नेपाल एसियन कप छनोटका लागि प्लेअफ खेल्नुपर्ने स्थितिमा छ । नेपालले बाँकी तीन खेलमा भने सुखद नतिजा हासिल गर्ने अपेक्षा गरिएको छ । नेपालले महाभूकम्पका कारण रंगशाला बिग्रीएपछि अन्तर्राष्ट्रिय मान्यताप्राप्त फिफाको खेल खेलेको छैन ।

नेपाल रहेको समूह ‘बी’मा अष्ट्रेलिया ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक रहेको छ । नेपाल ३ अंकसहित चौथो स्थान तथा अंकविहिन चाइनिज ताइपेइ अंकविहिन रहेको छ ।

तपाईको प्रतिक्रिया