लकडाउनले वाक्कदिक्क वर्षा

देश गएको २ महिनादेखि लकडाउनमा छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि आम मानिस घरको चार कुनाभित्र दैनिकी विताउन बाध्य छन् । बिहीवारबाट लकडाउन केही खुकुलो भए पनि मानिसहरु कोरोनाको त्रासका कारण घरबाट बाहिर निस्कन डराइरहेको अवस्था छ ।
नेपाली कलाकारहरु पनि लकडाउन भएको दिनदेखि घरभित्रै नजरबन्द छन् । लकडाउनअघि फिल्म वा म्यूजिक भिडियोको छायांकनका कारण विरलै घर बसेका कलाकारहरु अहिले पुस्तक पढेर र फिल्म हेरेर जसोतसो दिन काटिरहेका छन् । बल्लतल्ल घरमा बस्न पाएकोमा लकडाउनको केही दिन खुसी भएका उनीहरु अहिले घरभित्रै सीमित हुनुपर्दा वाक्कदिक्क भएका छन् ।
अभिनेत्री वर्षा सिवाकोटी पनि लकडाउनका कारण घरभित्रै बस्नु पर्दा दिकदार भैसकेकी छन् । लकडाउनका केही दिन बिहान योगा र दिउँसो पुस्तक पढेर दिन काटेकी उनी अहिले स्थिति कहिले सामान्य होला र पुनः एक्सन कटमा रमाउँला भनेर बसेकी छन् । बिहीवार फेसबुक स्टोरीमा आफ्नो एक तस्विर पोस्ट्याउँदै उनले आफू वाक्कदिक्क भएको बताएकी छन् ।
अभिनेत्री वर्षा सिवाकोटी लकडाउन हुनुभन्दा अगाडि फिल्म ‘परदेशी २’ को छायांकनमा व्यस्त थिइन् । लकडाउन खुलेपछि उनी यो फिल्मको छायांकनमा व्यस्त हुनेछिन् । यसपछि उनको पाइपलाइनमा फिल्म ‘सुदूर’ छ । लिड अभिनेत्रीको रुपमा अभिनय गरेका अधिकांश फिल्म बक्सअफिसमा असफल भए पनि वर्षाको करिअरमा भने त्यसले कुनै प्रभाव पारेको छैन ।
तपाईको प्रतिक्रिया