मुगु कोरोना शून्य जिल्ला !

मुगु : मुगुमा भेटिएका कोरोना संक्रमित युवाको दोस्रो पटकको पिसिआर परीक्षण रिपोर्ट नेगटिभ आएको छ। जेठ २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो।

खत्याड गाउँपालिका–२ घर भएका २७ वर्षीय ती युवामा कोरोना संक्रमण पुष्टिसँगै उनी मुगुको पहिलो संक्रमित भएका थिए। त्यसपछिका दिनमा मुगुबाट पठाइएका कुनै पनि स्वाब रिपोर्ट पोजेटिभ आएकाे थिएन।

जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीका अनुसार बिहीबार मुगुबाट पठाएका १ सय २६ स्वाबमध्ये ७८ जनाको रिपोर्ट आएको र कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन।

बिहीबार छायानाथ रारा नगरपालिकाका २६, खत्याड गाउँपालिकाका १६ र मुगुम कार्मारोङ गाउँपालिकाका ८४ मध्ये ३६ जनाको स्वाब परीक्षण भएको थियो।  मुगु जिल्लाको पहिलो कोरोना संक्रमित युवाको स्वाब पुन: परीक्षणका लागि पठाइएकाे र रिपोर्ट नेगटिभ आएसँगै जिल्लामा अहिलेसम्म अन्य संक्रमित भेटिएका छैनन्।

बिहीबारसम्म मुगुका १ हजार २७ जनाको पिसिआर परीक्षण भएको छ।

तपाईको प्रतिक्रिया