आलोचनात्मक चिन्तन र उपयोगी सामग्रीको अपेक्षासहित शुभकामना


फुलहरू ‘झर्नलाई फुल्दछन् र उम्रनलाई मर्छन’ भन्नुमा पहिलो वाक्यले निराशा र दोस्रो वाक्यले आशा जन्माउँछ । कर्णाली प्रदेशको इतिहास अध्ययनले छाती धक्क फुल्ने थुप्रै ठाउँहरू छन् । योगी नरहरिनाथ, रत्नाकर देवकोटा र डाक्टर सौभाग्य शाहा जस्ता सशक्त अध्येताहरू यसै क्षेत्रले जन्माएको छ । शक्तिशाली कर्णाली राज्यको षड्यन्त्र पश्चातको हारसँगै यस राज्यका नागरिक र यहाँको भूगोलसँग केन्द्र सरकारले लगाएको कुदृष्टिले व्यवहारमा यस क्षेत्रका नागरिकलाई दोस्रो दर्जाको जस्तो बनाएको छ । जुन आज पर्यन्त कायम छ । यही मानसिकता परिवर्तन गराउन आवश्यक छ । त्यसका लागि आलोचनात्मक चिन्तन जरुरी छ । आलोचनात्मक चिन्तनसहितका सामग्री कर्णाली अनलाइनले छाप्ने अपेक्षा छ । आजबाट शुरु हुन लागेको कर्लाली अनलाइनबाट मेरो यहि अपेक्षा छ । पर्याप्त उपयोगी सामग्री सहित निरन्तर प्रकाशनको शुभकामना दिन चाहन्छु ।

यस क्षेत्रमा गतिला स्कूल, कलेज र महाविद्यालयहरू खोलिएनन् । परिणाम साँस्कृतिक स्तर निकै कमजोर हुन गयो । लामो समय गरिबी, भोकमरी र अशिक्षाको पर्याय बनाइएको यस क्षेत्रका नागरिकहरुको स्वाभिमान, ईमान, इज्जत र वैभवको कुनै मूल्य भएन । कला, संस्कृति जीर्ण बन्यो, भने सृजनात्मक क्षमता समेत कमजोर भयो । परिणाम कर्णालीको कला र साहित्यले समेत स्थान पाएन । यसबारे न यहाँका टाठाबाठा भनिएकाले छलफल गरे, न केन्द्र सरकारले नै गम्भीर बन्न सक्यो ।

तसर्थ अहिलेको टट्कारो आवश्यकता भनेको इतिहासदेखि हालसम्मको लेखाजोखा र त्यसमाथिको औचित्यपूर्ण बहस हो । जुन यहाँको कला, संस्कृतिको संरक्षण तथा साहित्य र बौद्धिकताको विकासले मात्र सम्भव छ । यसका लागि अध्ययन लेखन चिन्तन मनन जरुरी छ । त्यसैले कर्णालीको ऐतिहासिक वैभवलाई कायम राख्न कर्णाली अनलाइन कोशेढुंगा सावित हुने विश्वास छ ।

कर्णाली नेपाली भाषाको उद्गम थलो हो । सिंजाली खस भाषा वर्तमान नेपाली भाषाको मातृभाषा हो । वर्तमान नेपाल निर्माणको सुरुवता कर्णाली प्रदेशबाट भएको हो । नेपालको मध्यकालीन इतिहासमा महत्वपूर्ण स्थान ओगटेको कर्णाली अहिलेको नेपालको काठमाडौं जतिकै महत्वपूर्ण क्षेत्रको रुपमा चिनिन्थ्यो । मध्यकालमा आर्थिक र सैनिक शक्तिको दृष्टिकोणले सम्पन्न र बलियो कर्णाली प्रदेश गरिबीको रेखामुनि रहेको ठुलो जनसंख्याको हिस्सा ओगटेर पछाडि परेको देखिन्छ । साधन स्रोतले सम्पन्न र प्रचुर सम्भावना बोकेर पनि यो क्षेत्र पछाडि परेको तथ्यहरु छन् । के साँच्चै यो क्षेत्र पछि परेकै हो त ? वा पछि पारिएको हो ? उत्तर खोज्न जरुरी छ । मलाई लाग्छ खोज्ने काम कर्णाली अनलाइनको महत्वपूर्ण भूमिका रहनेछ ।

गोर्खाली सेनाले १८४५ मा पहिलो पटक जुम्ला राज्यमाथि आक्रमण ग¥यो । तीन पटकसम्म लगातार हारेको गोर्खाली सेनाले चौथो पटक १८४६ मा जुम्ला राज्यलाई आफ्नो बनायो । विविध जालझेल र षड्यन्त्र गरेर । त्यसयता कर्णाली राज्यलाई केन्द्रीय सत्ताले हेर्ने चस्मा फरक छ । गोर्खा राज्य विस्तार अभियानलाई अवरोध गरेकै कारण हारेको शक्तिलाई दबाउन गोर्खालीहरू सत्तामा रहुन्जेल लागे । युद्धमा हारेको शक्तिलाई जितेको शक्तिले सदैव दबाउछ । यो युद्ध पछिको नियम जस्तै हो । देशमा गोर्खाली शाह वंशहरुको सत्ता गुमेको पनि १४ वर्ष भैसक्यो । १४ वर्ष सम्मपनि काठमाडौंको सत्ताले कर्णालीलाई गोर्खालीहरूकै पुरानो चस्माले हे¥यो ।


उसको चस्मा फेरिएन । बाह्र वर्षमा खोला फिर्छ । तर १४ वर्षसम्म पनि सत्ताको चरित्र फेरिएन । उसको नियत फेरिएन । सत्तासीनहरूको सोच फेरिएन । भारतमा लामो समय शासन गरेको बेलायती साम्राज्यवादले अन्तत ः भारत छोड्नुप¥यो । त्यो अवधिमा बेलायतले भारतीय संस्कृतिमाथि हमला गरिसकेको थियो । परिणाम बेलायतीहरूको प्रभाव रहिरह्यो । आज भारत दक्षिण एसियामा त्यही बेलायती चरित्र देखाइरहेको छ । नेपालमा २ सय ३८ वर्ष शासन गरेको र कर्णालीलाई दबाउने मानशिकता भएको सत्ता समाप्त भैसक्दापनि पुरानै नियति दोहोरिनुले राम्रो संकेत गर्दैन ।

शासक फेरिए पनि सत्ताको चरित्र पुरानै छ । श्रीपेच नभए पनि थुप्रै नयाँ राजाको उदय भएको छ । नयाँ शासकहरूका नियतमा गोर्खाली अवतार भएको जनताले महशुस गरिरहेका छन् । परिणाम कर्णालीलाई हेर्ने चस्मा परिवर्तन हुन सकेन । अब कर्णालीलाई राज्यले देख्ने गरी कर्णाली अनलाइनले सामग्री प्रकाशित गरोस् ।

कर्णालीलाई रोक, भोगको अशिक्षा, अभावको पर्याय बनाइएको छ । हिजोको शक्तिशाली राज्यका नागरिकलाई फोहोरका पर्यायवाची बनाउन खोजिएको छ । यही निउ बनाएर विभिन्न एनजीओ र आइएनजीओ आएका छन् । जसबाट केही सिमित व्यक्तिले फाईदा लिएका छन् । भने सारा गोप्य सूचना विदेशिहरूको हात परेको छ । यहँको प्राकृतिक सम्पदा, नदिनाला, वन सम्पदा, खनिज सबैमा कब्जा जमाउन चलखेल भइरहेको छ । यहाँको मौलिकपनलाई मास्न खोजिएको छ । मज्बुत उत्पादन प्रणालीबाट परनिर्भरतातिर उन्मुख बनाइएको छ । नागरिकलाई अत्मनिर्भरताको साटो मगन्ते बनाउन खोजिएको छ । यो सब अव्यवस्थाका जिम्मेवार सत्ता संचालक र एनजीओ, आईएनजीओ नै हुन भनी ठोकुवा गर्न ढिलो भइसकेको छ ।
यी र यस्ता गतिविधि बन्द हुन । सत्ताको दोसी चस्मा फेरियोस, कर्णालीबासीले हिजोको इतिहासमा

छाति चौडा बनाउन पाउन । शिर ठाडो पारेर हिड्न र बोल्न सकुन । अन्यथा विद्रोह हुन सक्छ । हिजोको शक्तिशाली राज्यको उत्तराधिकारी जन्मिन सक्छ । मध्यकालीन इतिहासको राज्य बिउताउन सक्ने, यस्तो सन्देश दिन कर्णाली अनलाइन कर्णालीको तेख्रो आँखा बन्नेमा आशावादी छु । समग्रमा फुलहरु उम्रनलाई मर्छन् भन्ने खालको आशा जगाउने काम होस् शुभकामना ।