निषेधाज्ञापछिको सुनसान वीरेन्द्रनगर, कार्यान्वयनमा कडाइ

सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्लामा एकैदिन सुरु भएको निषेधाज्ञा कार्यान्वयनका लागि प्रहरीले कडाइ गर्न थालेको छ । कर्णालीमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढ्दै गएपछि सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र मुगु सदरमुकाम गमगढी बजार क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारको निर्णय अनुसार अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै निषेधाज्ञा घोषणा गरिएपछि यहाँका मुख्य बजार क्षेत्र सुनसान छन् ।

निषेधाज्ञा घोषणापछि सुनसान देखिएको वीरेन्द्रनगर बजार क्षेत्र ।

निषेधाज्ञा घोषणा गरिएपनि स्थानीय नागरिक घर बाहिर तथा बजार क्षेत्रमा निस्कन थालेपछि प्रहरीले कडाइ गर्न थालेको हो । निषेधाज्ञाको पालना नगरी वीरेन्द्रनगर नगरपालिका बजार क्षेत्रमा खुलेयाम घुमघाम गर्ने स्थानीय नागरिकलाई प्रहरीले कारवाही गर्न थालेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पनि पटक–पटक निषेधाज्ञा गर्ने गरिएको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाका अनुसार रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा पनि बुधवारदेखि निषेधाज्ञा जारी भएको छ ।

नागरिकलाई निषेधाज्ञा पालना गर्न अनुरोध गर्दै अटेर गर्नेलाई कारवाहीका लागि प्रहरीले मुख्य बजार क्षेत्रमा निगरानी बढाएको उनले बताए । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले वीरेन्द्रनगमा लकडाउन हटेसँगै बजारमा हुने अत्याधिक भिडभाड हटाउन, नजिकिँदै गरेका चाडवाडमा भिडभाड गर्न नदिन र समुदायस्तरमा कोरोना संक्रमण पुग्न नदिन निषेधाज्ञा घोषणा गर्नुपरेको बताए ।

उनका अनुसार कर्णाली प्रदेशको केन्द्र वीरेन्द्रनगरमा भदौ १ गते विहान ६ बजेदेखि ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । यस्तै कोरोनाको जोखिम बढेको भन्दै सुर्खेतको भेरीगंगा नगरपालिकाका क्षेत्रभित्र रहेका बजार पनि बन्द गरिने भएको छ । नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सोमबार साँझ ७ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका लागि बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । नगर उपप्रमुख रेनु आचार्यका अनुसार यो अवधिमा भेरीगंगा नगरपालिका भित्रपर्ने छिन्चु, जहरे, झिङ्नी र रामघाट बजार बन्द रहने छन् ।

यस्तै कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने मुख्य नाकाहरूमा कडाइ गर्ने निर्णय गरेको छ । पास बनाएर आएका व्यक्तिहरूलाई समेत पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ । विषेश गरी प्रदेश भित्रिने मुख्य नाका सुर्खेतको बबई, कुइने, सल्यानको कालिमाटी, काल्चे र कपुरकोट लगायतका सीमा नाकामा कडाइ गरिएको हो ।

निषेधाज्ञा अवधिभित्र स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारीजस्ता अत्यावश्यक सेवा तथा व्यवसाय मात्रै सञ्चालन गर्न पाइने छ ।

तपाईको प्रतिक्रिया