स्लिम बन्न रेखाको मिहेनत

स्लिम कसरी हुने भन्ने कुराले अहिले धेरैलाई पिरोल्ने गरेको छ । काम गर्न छिटोछरितो हुने र लुगा लगाउँदा राम्रो देखिने भएकाले स्लिम शरीर बनाउन जिम धाउने बग्रेल्ती छन् । बिहान झिसमिसेमा शहरको चक्कर काट्नेको संख्या पनि कम छैन । स्लिम हुनु भनेको आकर्षक देखिनु मात्र नभइ स्वस्थ्य हुनु पनि हो । यसले शरीरको अतिरिक्त बोसो घटाएर सम्भावित रोगबाट बचाउँछ ।

आफ्नो शरीरलाई स्लिम बनाउन अभिनेत्रीहरु जति मिहेनत सम्भवतः अरुले गर्दैनन् । अभिनेत्री रेखा थापालाई हेर्दा पनि यो कुरा थाहा हुन्छ । फिल्म ‘रामप्यारी’ पछि खानपिन र व्यायममा ध्यान नदिँदा उनको तौल निकै बढेको थियो । गएको केही वर्ष आफूले मन लागेका कुरा खाएका कारण मोटाएको बताउने उनले चार महिना लामो लकडाउनमा २० केजी तौल घटाएकी छन् ।

कोरोनाका कारण जिमखाना बन्द भएपछि आफू बस्ने अपार्टमेन्टको कम्पाउन्टमा रेखाले दैनिक घन्टौं व्यायम गर्ने गरेकी छन् । उनले जिम ट्रेनर विज्जु पार्कीसँग कठिन अभ्यास गर्दै गरेका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । सोमवार रेखाले व्यायम गरेको एक तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छन्, जसमा शरीरलाई तन्दुरुस्त राख्न उनले गरेको मिहेनत देखिन्छ ।

रेखाले लकडाउनको समयमा स्लिम बनाएको शरीर दर्शकहरुले सम्भवतः अर्को वर्ष पर्दामा हेर्न पाउनेछन् । सविर श्रेष्ठले निर्देशन गर्ने बेनामे फिल्ममा उनको जोडी अभिनेता सौगात मल्लसँग बाँधिएको छ । सरकारले छायांकन अनुमति दिएसँगै फिल्म फ्लोरमा जानेछ । फिल्मको चरित्रमा फिट हुनका लागि पनि उनले लकडाउनको समय आफ्नो शरीरलाई स्लिम बनाएको चर्चा छ ।

तपाईको प्रतिक्रिया